logo
२०८१ मंसिर १५ शनिवार



तीन हजार विद्यार्थीलाई टिफिन बक्स वितरण

खुला |


तीन हजार विद्यार्थीलाई टिफिन बक्स वितरण
तस्विर-फाइल


चन्द्र पन्दाक
ताप्लेजुङ, माघ ६ गते । ताप्लेजुङको दुर्गम हिमाली क्षेत्रमा अध्ययन गर्दै आएका करिब तीन हजार विद्यार्थीलाई टिफिन बक्स वितरण गरिएको छ । विद्यार्थीलाई विद्यालय समयभर टिकाउने योजनाका साथ टिफिन बक्स (दिवा खाजा बोक्ने भाँडो) वितरण गरिएको हो ।

जिल्लाको दुर्गम उत्तरी क्षेत्र फक्ताङ्लुङ र सिरिजङ्घा गाउँपालिकामा कार्यरत संस्था ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड) नेपालले उक्त टिफिन बक्स वितरण गरेको हो । रिड नेपालले तीन वर्षको अवधिमा फक्ताङ्लुङ गाउँपालिकाका २२ वटा र सिरिजङ्घा गाउँपालिकाका १३ गरी ३५ वटा सामुदायिक विद्यालयमा अध्ययनरत दुई हजार ९७० जना विद्यार्थीलाई टिफिन बक्स गरेको हो ।

रिड नेपालका कार्यक्रम प्रवन्धक राजेन्द्र पन्तले विद्यार्थीहरुलाई टिफिन बक्स र स्वास्थ्य सामग्रीसमेत वितरण गरिएको जानकारी दिनुभयो । पन्तका अनुसार १५ लाख ४४ हजार रुपियाँ बराबरको टिफिन बक्स र छ लाख ५० हजार रुपियाँ बराबरको स्वास्थ्य सामग्री वितरण गरिएको छ । कोभिड–१९ को सम्भावित जोखिमलाई दृष्टिगत गरी साबुन, फिनायल, स्यानिटाइजर, मास्क, ट्वाइलेट ब्रस र ताैलियालगायतका स्वास्थ्य सामग्री वितरण गरेको रिड नेपालका शिक्षा विकास अधिकृत रोमाकुमारी माबोले जानकारी दिनुभयो ।

रिड नेपालका कार्यक्रम प्रबन्धक पन्तले टिफिन समयपछि अधिकांश विद्यार्थी विद्यालयमा नअडिएको पाइएपछि टिफिन बक्स वितरण गर्ने योजना बनाएको बताउनुभयो । विद्यार्थीलाई खाजा बोक्न सहज बनाई टिफिन पछिसम्म नै विद्यालयमा विद्यार्थी रहनसक्ने वातावरण बनाउनमा टिफिन बक्स वितरण कार्यक्रमले टेवा पुग्ने विश्वास रिड नेपालले लिएको उहाँको भनाइ छ । रिड नेपालको फक्ताङ्लुङ गाउँपालिका–४ इखाबु, तापेथोक–५, लेलेप–६ र ओलाङ्चुङगोला–७ तथा सिरिजङ्घाको मामाङ्खे–६, खेबाङ–७ र याम्फुदिन– ८ मा कार्यक्षेत्र छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?