जनार्जन खत्री
सर्लाही, माघ ६ गते । सर्लाहीको दक्षिणी भेगस्थित भारतसँग सीमा जोडिएको विष्णु गाउँपालिकाले प्रत्येक परिवारलाई ग्याँस चुल्हो वितरणको काम सुरु गरेको छ ।
गाउँपालिकालाई धुँवामुक्त बनाउने अभियान अन्तर्गत गाउँपालिका कार्यालयले बिनियोजन गरेको बजेटबाट यस वर्ष दुई हजार ३३१ परिवारलाई ग्याँस चुल्हो वितरण गर्ने लक्ष्यसहित वितरण गर्ने काम भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सञ्जिब सापकोटाले जानकारी दिनुभयो ।
अधिकृत सापकोटाकाअनुसार अघिल्ला दुई वर्ष दुई हजार पाँचसय परिवारलाई ग्याँस चुल्हो वितरण गरिएको थियो । गत वर्ष छुटेका परिवारलाई अहिले वितरण गर्नेक्रम चलिरहेको उहाँले बताउनुभयो ।
यसअघि वडा ४, ५ र ६ का वासिन्दालाई ग्याँस चुल्हो वितरण गरिएको थियो । यस वर्ष वडा १, २, ३, ७ र ८ का वासिन्दालाई ग्याँस चुल्हो वितरण भइरहेको विष्णु गाउँपालिकाले जनाएको छ ।
प्रत्येक परिवारलाई एक थान सिलिण्डर, एक थान चुल्हो, एक थान रेगुलेटर, एक थान लाइटर, ग्याँस चुल्हो जोड्न आवश्यक पर्ने पाइप र क्लिप प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सापकोटाले बताउनुभयो ।
गाउँपालिकाका अध्यक्ष जवाहरलाल यादव र उपाध्यक्ष उषादेवीले गाउँपालिकावासीलाई गाउँपालिका कार्यालयबाटै ग्याँस चुल्हो वितरण गरिरहेको बताउनुभयो । गाउँपालिकाका अध्यक्ष यादवले निर्वाचन ताका आफूले गाउँपालिकालाई धुँवारहित बनाउने भनी गरेको प्रतिवद्धताअनुसार प्रत्येक घरधुरीलाई ग्याँस चुल्हो वितरण गरेको बताउनुभयो ।
दउरामा खाना पकाउँदा महिला रोगी, बिरामी हुने तथा गरिव र विपन्न परिवारका मानिसहरु साहु महाजनको खेतबारीमा दाउरा चोर्न जाँदा पक्राउ पर्ने, कुटपीट हुनेजस्ता विकृति रहेकाले ती समस्याको अन्त्य गर्न पनि ग्याँस चुल्हो वितरण गरिएको गाउँपालिकाका अध्यक्ष यादवले बताउनुभयो ।