logo
२०८१ मंसिर १५ शनिवार



जिल्ला प्रशासनद्वारा विपन्नहरुलाई कम्बल वितरण

खुला |


जिल्ला प्रशासनद्वारा विपन्नहरुलाई कम्बल वितरण


गोपी ज्ञवाली
नवलपरासी, माघ ७ गते । शीतलहर बढ्दै गएपछि नवलपरासीको जिल्ला प्रशासन कार्यालयले विपन्न परिवार सदस्यहरुलाई कम्बल वितरण गरेको छ ।पश्चिम नवलपरासीको विपद् व्यावस्थापन समितिको योजनामा जिल्ला सदरमुकाम परासी क्षेत्रका विपन्न, अपाङ्गता र असहायहरुलाई बिहीबारदेखि कम्बल वितरण सुरु गरिएको नवलपरासीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्राले बताउनुभएको छ ।

नवलपरासीको जिल्ला सदरमुकाम परासीसहित जिल्लाको मैदानी भागमा पछिल्लो दुई हप्तादेखि कठाङ्ग्रिदो जाडो र शीतलहर परेपछि आम नागरिकहरुको जीवन कष्टकर बनेको भन्दै जिल्ला विपद् व्यावस्थापन समितिको बैठकले विपन्न, असाहाय नागरिकहरुलाई कम्बल वितरण गर्ने निर्णय गरे अनुसार बिहीवारदेखि न्यानो कम्बल वितरण सुरु गरिएको बताइएको छ ।

पहिलो चरणमा रामग्राम नगरपालिकाका–१, २, ३, ५ का विपन्न स्थानियवासीहरुलाई कम्बल वितरण गरिएको छ । स्थानीय सरकारका जनप्रतिनिधिहरु एवं जिल्ला प्रहरी कार्यालयको समन्वयनमा तयार परिएका नाम लिस्ट अनुसारका विपन्न परिवार सदस्यहरुलाई कम्बल वितरण गरिएको नवलपरासीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले बताउनुभयो । कम्बल वितरणको पहिलो चरणमा बिहीबार रामग्राम नगरपालिकाका ४ वटा वडाका ४० जना विपन्न, असहाय नागरिकहरुलाई कम्बल वितरण गरिएको छ ।

दोस्रो, तेस्रो हुँदै चौथो चरणसम्म गरी रामग्राम नगरपालिकाका वा सदरमुकाम क्षेत्रमा विपन्न, अपाङ्गता भएका, असाहाय परिवारका मानिसहरुलाई कम्बल वितरण गरिने योजना जिल्ला विपद व्यावस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी मिश्राले बताउनुभयो ।

जिल्लामा शितलहर बढ्दै गएपछि गत आइतबारदेखि रामग्राम नगरपालिकाले नगरका ठाँउ–ठाँउमा आगो बाल्नका लागि दाउरा वितरण गरेको छ भने जिल्ला विपद् व्यावस्थापन समितिले विपन्न परिवार सदस्यहरुलाई कम्बल वितरण गरेपछि पीडित जनतालाई राहत भएको परासीका समाजसेवी बुद्धन अलिले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?