logo
२०८१ जेष्ठ ५ शनिवार



लागुऔषध कारोबारी समात्न गएको प्रहरी नै मोबाइल चोर

खुला |
प्रदेश |


लागुऔषध कारोबारी समात्न गएको प्रहरी नै मोबाइल चोर


अबिनाश चौधरी
धनगढी, माघ ७ गते । कैलालीमा लागुऔषध कारोबारी समात्न गएको प्रहरीले मोबाइल चोरी गरेको भिडियो सीसी क्यामेरामा रेकर्ड भएको छ । धनगढी उपमहानगरपालिका– २ ट्राफिक चौकस्थित ग्लोबल मोबाइल ग्यालरीबाट प्रहरीले मोबाइल चोरीको फुटेज सीसी क्यामेरामा रेकर्ड भएको हो ।

सो मोबाइल ग्यालरीमा लागुऔषधको कारोबार भइरहेको गोप्य सूचनाका आधारमा बुधबार प्रहरी टोली मोबाइल ग्यालरीमा गएर चेकजाँच गरेको थियो । प्रहरीले त्यहाँबाट एक ग्राम ५५० मिलिग्राम ब्राउन सुगरसहित धनगढी उपमहानगरपालिका–२ का मोबाइल पसल सञ्चालक दोर्णबहादुर रावल, २९ वर्षीय टेक बिष्ट र वडा ४ का ३० वर्षीय मनीष भण्डारीलाई पक्राउ गरेको थियो ।

तर, मोबाइल ग्यालरीमा खानतलासी गर्ने क्रममा प्रहरीले मोबाइल पनि चोरेको भिडियो सीसी क्यामेरा फुटेजमा देखिएको छ । पसलमा मोबाइलको खाली डब्बा देखेपछि सीसी क्यामेराको फुटेज चेक गर्दा प्रहरीले मोबाइल चोर्दैगरेको दृश्य देखिएको पसल सञ्चालकका आफन्त सुवास रावलले बताउनुभयो ।

खानतलासीको नाममा प्रहरीले दुई वटा मोबाइल चोरी गरेको भन्दै उहाँले घटनामा संलग्न प्रहरीमाथि कारबाहीको माग गर्दै आफूले जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएको बताउनुभयो । भिडियोसहित निवेदन परेपछि सोबारे छानबिन भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

घटनामा संलग्न देखिएको प्रहरी हवल्दार होमबहादुुर माल र प्रहरी जवान भरतसिंह बुडाललाई हिरासतमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रविण विष्टले जानकारी दिनुभयो । दुवै जनाको साथबाट मोबाइल पनि बरामद भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

चोरीमा संलग्न दुवै प्रहरी जिल्ला प्रहरी कार्यालयको टाइगर टोलीमा कार्यरत थिए । उनीहरु दुवै जनालाई फौजदारी अपराध अन्तर्गत कारबाही हुने प्रहरी नायब उपरीक्षक विष्टले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?