सिराज खान
नेपालगञ्ज, माघ ७ गते । बाँकेमा अत्याधिक चिसो बढेपछि समस्यामा परेका विपन्न परिवारका एक हजारभन्दा बढी जेष्ठ नागरिकलाई डुडुवा गाउँपालिकाले कम्बल र च्यवनप्राश वितरण गरेको छ ।
कम्बल र च्यवनप्राशसँगै जेष्ठ नागरिकलाई सामाजिक भत्ता पनि वितरण गरिरहेको डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । चिसोले गाउँपालिकाका धेरै विपन्न र गरिब जेष्ठ नागरिक अत्याधिक समस्यामा परेको गुनासो आएपछि तत्काल पालिकाले सक्रिय भएर कम्बल तथा च्यवनप्राश वितरण गरिएको उहाँले बताउनुभयो । शुक्रवारसम्म एक हजार ३०० जनालाई कम्बल तथा च्यवनप्राश वितरण गरिसकेको अध्यक्ष चौधरीले बताउनुभयो ।
गाउँपालिकाको वडा १ देखि ६ सम्मका सबैै वडाका जेष्ठ नागरिकलाई न्यानो कम्बल, च्यवनप्राश र सामाजिक सुरक्षा भत्ता वितरण गर्ने कार्य तिव्र रुपमा चलिरहेको छ । अध्यक्ष चौधरीकाअनुसार गाउँपालिकाले जेष्ठ नागरिकलाई सवारी साधनमार्फत घरबाटै ल्याउने र लैजाने व्यवस्था पनि गरेको छ । घरबाट ल्याएर नेपालगञ्जका ज्योती विकास बैंक, एनसीसी बैंक र मेगा बैंकमार्फत दुई जना कर्मचारी खटाएर आर्थिक वर्ष २०७८–७९ को पहिलो र दोस्रो त्रैमासिक साउनदेखि पुससम्मको भत्ता पनि प्रदान गरिरहेको छ ।
बैंकबाट भत्ता बुझेर जेष्ठ नागरिक लाई एक–एक वटा कम्बल र च्यवनप्राश वितरण गरी घरसम्म पुर्याउने व्यवस्था मिलाइएको अध्यक्ष चौधरीले बताउनुभयो । चिसोबाट बच्न न्यानो सामग्री र सामाजिक सुरक्षा भत्ता एकै पटकसँगै पाएपछि जेष्ठ नागरिक खुशी भएका छन् ।
डुडुवां १ चौफेरीका ९५ वर्षीय नन्कइ अहिरले पहिलो पटक यसरी कम्बल, च्यवनप्राश र सामाजिक भत्ता पाएको जनाउँदै खुशी व्यक्त गर्नुभयो । सोही प्रकारको प्रतिक्रिया अधिकांश जेष्ठ नागरिकले दिनुभएको छ ।
गाउँपालिकाको ६ वटै वडाका ६० वर्ष पुरा गरेका जेष्ठ नागरिक दलित र एकल महिला गरी दुई हजार सात सय २८ जनालाई कम्वल र च्यवनप्राश वितरण गर्ने योजना रहेको प्रमुख प्रशासकिय अधिकृत परशुराम उपाध्यायले बताउनुभयो ।