logo
२०८१ जेष्ठ ६ आईतवार



लामाबगरमा सुरुङमार्ग निर्माण कार्य सुरु

खुला |
प्रदेश |


लामाबगरमा सुरुङमार्ग निर्माण कार्य सुरु


बाबुराम शर्मा
चरीकोट, माघ ७ गते । उत्तर–दक्षिण कोरिडरअन्तर्गत दोलखाको बिगु गाउँपालिका–१ लामाबगरमा सुरुङमार्ग निर्माणको काम सुरु भएको छ । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको ड्यामभन्दा माथि लप्ची खोलामा १६० मेगावाट क्षमताको आयोजना सञ्चालन गरिरहेको दुगढ हाइड्रो पावर प्रालिले आफनै लगानीमा यो सुरुङमार्ग निर्माण सुरु गरेको हो ।

करिब एक हजार एकसय मिटर लामो, एक हजार ७४ दशमलब १८ मटिर लामो र ६ वाई ५.५ डायमेन्सनको सुरुङमार्गमध्ये ५० मिटर ट्रयाक खोलिएको छ । तीब्र रुपमा काम भइरहेको जनाइएको छ । बिगु गाउँपालिका अध्यक्ष युधिष्ठिर खडकाका अनुसार यो सुरुङमार्ग निर्माण भएपछि दोलखा हुँदै चीनसँग जोडिएको नाकासम्म सडक पुग्नेछ ।

माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको ‘हेडवक्र्सको दायाँतिरको भागमा सुरुङ निर्माणको काम सुरु भएको छ । सुरुङ मार्ग बनेपछि चीनको नाका जोड्न सबैभन्दा छोटो मार्ग हुने विश्वास छ । सुरुङमार्ग बनेपछि थप १२ किलोमिटर सडक बनाउँदा चिनियाँ सिमाना ङ्याङ्लुङ जोडिँदा नाका खोल्न समेत सहज हुनेछ । तामाकोसी आयोजनालाई असर नपर्ने गरी यो सुरुङमार्ग बनाउन लागिएको बताइएको छ ।

सडक सञ्जाल नजोडिँदा बिगु गाउँपालिकाका बासिन्दा भए पनि लप्चीवासी अर्कै मुलुकका नागरिकझै छन् । लामाबगरबाट लुम्नाङ एक दिन र लप्ची दुई दिनको पैदलयात्रा पछि मुस्किलले पुगिन्छ । वर्षा लागेपछि त आवतजावत नै पूरा बन्द हुनेगरेको स्थानीयको भनाइ छ । सुरुङमार्ग बनेर ३२ किलोमिटर सडक बनेपछि लप्चीवासीको आर्थिक अवस्थामा सुधार आउने विश्वास गरिएको छ ।

सडक नहुँदा यहाँ पाँचवटा हाइड्रोपावर बन्न सकेका छैनन् । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको बाँध भरिएपछि ओहोरदोहोर गर्ने परम्परागत बाटोसमेत बन्द हुँदा चौँरी र भेडाबाख्रा समेत यही सुरुङमार्गबाट हिँड्न मिल्ने गरी निर्मााण हुन थालेको छ ।

सुरुङमार्ग बनेपछि सबैभन्दा पुरानो लामाबगर नाकासमेत सञ्चालनमा ल्याउन सकिन्छ । तातोपानी नाका सडकसँग जोड्नुअघि काठमाडौँ र लासाको मुख्य व्यापारिक नाका यही लामाबगर हो । लामाबगरमा अहिलेसम्म पुरानो भन्सार कार्यालय भए तापनि कारोबार छैन । भारतको भिठ्ठामोडदेखि लामाबगरसम्मको सडक पूर्णरूपमा सञ्चालन भए तापनि तिब्बत सिमानासम्मको सडक कठिन भीरका कारण खुल्न नसक्दा जोडिएको छैन ।

लामाबगरभन्दा माथि लप्ची खोला र जुम खोलामा निजीक्षेत्रको लगानीमा तीनसय मेगावाटभन्दा बढीका आधा दर्जन जलविद्युत् आयोजना निर्माण प्रक्रियामा रहे तापनि सुरुङमार्गको ढिलाइले रोकिएका छन् । निजी क्षेत्रको एमभी दुगड ग्रुपको प्रवर्धनकाे १६० मेगावाटको नासा हाइड्रोपावर प्रालिले एक वर्षअघि नै पाँच वटा स्काभेटर हेलिकोप्टरमार्फत सडक निर्माणकै लागि लुम्नाङसम्म पुर्याएको छ ।

तेललगायतका सामान ढुवानी गर्न कठिन हुँदा सडक ट्रयाकको सामान्य कामबाहेक केही हुन नसकेको बताइन्छ । चीन, नेपाल र भारत जोड्ने त्रिदेशीय यो राजमार्ग निर्माणपछि भिठ्ठामोढ– चिनियाँ सिमाना ङ्याङ्लुङ करिब २३५ किलोमिटर यात्रा गर्न सकिनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?