logo
२०८१ मंसिर ७ शुक्रवार



गाई भैंसीलाई खोरेत रोगविरुद्धको खोप

खुला |
प्रदेश |


गाई भैंसीलाई खोरेत रोगविरुद्धको खोप


विजयकुमार साह
ढल्केवर, माघ ९ गते । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनुषाले ६५ हजार गाई भैंसीलाई खोरेत रोगविरुद्धको खोप दिएकाे छ । गाई भैंसीमा खोरेत रोगको संक्रमण फैलिएपछि रोकथाम तथा नियन्त्रणका लागि निःशुल्क रुपमा सो खोप दिइएको हो ।

जिल्लाको १८ पालिकाको पशु शाखामार्फत खोरेतविरुद्धको खोप दिइएको विज्ञ केन्द्रका प्रमुख डाक्टर शम्भु साहले जानकारी दिनुभयो । खोरेत रोगको सङ्क्रमणका कारण कतिपय किसानको गाई भैँसीको मृत्यु भएपछि खोप लगाउने काम भएको उहाँले बताउनुभयो ।

महामारीको रूप लिएको खोरेत रोग भेक्सिनेसनपछि अहिले नियन्त्रणमा आएको दाबी गर्दै पशु चिकित्सक साहले खोरेत रोगका कारणले गाई भैँसीको खुर तथा मुखमा भएको घाउ पनि निको भएको बताउनुभयो ।

खोरेत रोग लागेपछि खुट्टा तथा मुखमा घाउ भएर कीरा लाग्ने र पशुले खान छोड्ने गर्छ । नखाएपछि लडेर मृत्यु हुनेगरेको छ । खोरेत रोग निक्कै संक्रामक भएकाले रोग लागेको पशुको सम्पर्कमा आएका अन्य पशुलाई पनि सर्ने हुँदा रोग लागेको पशुभन्दा रोग नलागेका पशुलाई टाढा राख्नुपर्ने सुझाव प्रमख साहले दिनुभयो ।

वर्षेनी फैलिने गरेको खोरेत रोगको संक्रमणबाट पशु चौपायालाई जोगाउन नियमित खोप लगाउन किसानहरूलाई सुझाव पशु चिकित्सक साहले दिनुभयो । चालू आर्थिक वर्ष २०७८–७९मा जिल्लाभरिमा एक लाख ३० हजार चौपायामा खोरेत विरुद्धको खोप लगाउने लक्ष्य लिएको कार्यालयले जनाएको छ ।

पहिलो चरणमा ६५ हजार पशुलाई खोप लगाइसकेको तथा खोप अभियान निरन्तर जारी रहेको केन्द्रका प्रमख इन्द्रदेव साहले जानकारी दिनुभयो । बाँकी पशुमा पनि आगामी फागुन महिनाभित्रै खोप लगाइसक्ने उहाँले बताउनुभयो ।
खोप अभियानमा ३६ खोपकर्तालाई परिचालन गरिएको छ । पशु चिकित्सकहरु घरमै पुगेर पनि सेवा दिइरहनु भएको छ ।

पशुपालनका लागि राम्रो सम्भावना भएको धनुषामा चालू आर्थिक वर्षमा पनि सबै पालिकाका पशुको लागि पूर्ण खोप कार्यक्रम सञ्चालनमा रहेको छ । जिल्लाभरिकै सबै गाइभैँसीमा एक चरणको खोप लगाइसकेपछि आगामी जेठ महिनादेखि बुस्टर डोज लगाउने जानकारी दिँदै साहले भन्नुभयो, ‘मौसम अनुकूलता र निर्धारित समयअनुसार चौपायामा खोप लगाउने भएकाले सोही प्रक्रियाअनुसार चिसो सकिएपछि मात्रै दोस्रो चरणको खोप लगाइनेछ ।’

मङ्सिर महिनादेखि यता खोरेत रोगकै कारण जिल्लाभरिमा ६५ वटा चौपाया मरेको खोरेत रोग नियन्त्रण प्रयोगशालाको तथ्याङ्कले देखाएको छ । १५ वटा गाईभैँसी तथा ५० वटा बाच्छबाच्छी खोरेत रोगकै प्रकोपले मरेका छन् । रोग अझै फैलिन नदिन तथा सोको नियन्त्रणका लागि खोप अभियानलाई तीव्रता दिइने पशु विज्ञ केन्द्रका प्रमुख डा. साहले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?