logo
२०८१ मंसिर ७ शुक्रवार



गाँउमा अझै जीवित छ कटुवाल प्रथा श्रीमानको जिम्मा सम्हाल्दै रुपा

खुला |
प्रदेश |


गाँउमा अझै जीवित छ कटुवाल प्रथा श्रीमानको जिम्मा सम्हाल्दै रुपा


अर्जुन काफ्ले
स्याङ्जा, माघ १० गते । आँधीखोला गाउँपालिका १ राजास्वाराकी ८० वर्षीया रुपा कटुवाललाई कटुवाल पेशा सम्हालेको १७ वर्ष पुगेको छ । ससुरा हुँदै श्रीमानको जिम्मामा आएको जिम्मेवारी श्रीमानको शेष पश्चात उहाँले कटुवालको जिम्मा सम्हाल्नुभएको हो ।

गाउँमा कुनै कार्यक्रम भए यहाँका पाँच गाउँका ११३ घरधुरीमा सूचना प्रवाह गर्ने उहाँको काम हो । देशमा सूचना र सञ्चारले नयाँ फड्को मारिरहँदा पुरानो सन्देश दिने काम आफूले सम्हालिरहेको रुपाको भनाइ छ ।

गाउँघरमा कुनै कार्यक्रमको खबर मोबाइल तथा फोनहरुले हुने भएपनि आफ्नो काम सबैको लागि विश्वासिलो अझै रहेको रुपा कटुवालको दाबी छ । जिल्लाको एकमात्र महिला कटुवाल आफू मात्र रहेको दाबी उहाँले गर्नुभएको छ । कटुवाल रुपाले सूचना प्रवाह गर्न वडा अध्यक्ष, कार्यक्रम संयोजक, संघ संस्थाका प्रमुखले आफूलाइ मोबाइलबाट घोक्न लाउने गरेको बताउनुभयो ।

गाउँको अग्लो र माझ पर्ने ठाउँमा गएर सबैले सुन्ने गरेर चर्को स्वरमा कार्यक्रमको बारेमा जानाकारी गरेपछि मात्र गाउँले कार्यक्रममा जाने गरेको रुपाको भनाइ छ । शाहकालीन समयमा जिल्ला प्रशासनको मुखिया सरहको सूचना बाहकको काम गर्ने पद कटुवाल पेशा गणतन्त्र आउँदासमेत कायम छ । आफूले दैनिक घोकेर दुई झुत्ती मकै, एक एक पाथी धान र कोदो तथा वार्षिक एक मानो चामल पाउने गरेको रुपाले बताउनुभयो ।

श्रीमानबाट जिम्मेवारी पाएपछि काम गरिरहेको र कम्तीमा पुरानो पेशालाई राज्यले केही गरेर संरक्षण गरे राम्रो हुने रुपा कटुवालको गुनासो गर्नुभयो । दुई छोरीको विवाह भैसकेको बताउनुहुँदै रुपाले कटुवाल पेशाको कमाइले एक्लो ज्यान पाल्न धौधौ रहेको बताउनुभयो ।

कामैका कारण आफ्नो नाम कटुवाल रहेको बताउँदै रुपाले आफ्नो शेषपछि घरमा अरु पेशा अँगाल्ने कोही नहुँदा गाउँमा पहिलो र अन्तिम महिला कटुवाल हुने दाबी गर्नुभयो । बाइसे चौबिसे राजाको पालादेखि कायम रहेको कटुवाल पेशा सञ्चारको सुविधासँगै इतिहासमा सीमित हुने अवस्थामा आएको पवनकाजी अधिकारीले बताउनुभयो ।

सबैको हातमा मोबाइल फोन छ, गाउँघरमा हुने कार्यक्रमको मोबाइलबाट खबर पाउने पनि गरेको छु तर कटुवालले नघोकेसम्म कार्यक्रमको विश्वास आफूलाई नहुने गरेको अधिकारीले बताउनुभयो ।

पाँच नगरपालिका र ६ गाउँपालिकासहित ११ स्थानीय तह रहेको स्याङ्जाको धेरै ग्रामीण ठाउँमा कटुवाल पेशा कायमै छ । यहाँका धेरैजसो गाउँमा अझैपनि कटुवालको आवाज नै सूचनाको मुख्य स्रोत भएको स्थानीयको भनाइ छ ।

रुपाजस्तै देशको पहिलो ग्रामीण पर्यटकीय गाउँ सिरुबारीमा ५७ वर्षीय नरबहादुर कटुवालले सूचना र सन्देश परम्परागत शैलीमा प्रवाह गर्ने गर्नुभएको छ । गाउँमा भएका सूचनालाई चिच्याउँंदै स्थानीयलाई प्रवाह गर्दै गाउँलेलाई भेला गराउने गरेको बताउनुभयो ।

रुपा र नरबहादुरजस्तै सूचना प्रवाह गर्ने परम्परागत सञ्चार माध्यमको एक अंश कटुवाल विधि अहिलेसम्म देख्न पाए पनि कालान्तरमा इतिहास बन्ने पक्का रहेको अधिकारीको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?