logo
२०८१ मंसिर ७ शुक्रवार



कोरोना संक्रमित परिवारलाई आर्थिक सहयोग प्रदान

खुला |
प्रदेश |


कोरोना संक्रमित परिवारलाई आर्थिक सहयोग प्रदान


बेलिना थापा
लमजुङ, माघ १० गते । कोरोना भाइरस (कोभिड १९) संक्रमणका कारण मृत्यु भएका व्यक्तिको परिवारले स्वास्थ्य कार्यालय लमजुङबाट आर्थिक सहायता पाएका छन् । कोरोनाबाट मृत्यु भएका ३८ जनाको परिवारले कार्यालयबाट ५० हजार रुपियाँका दरले १९ लाख रुपियाँ आर्थिक सहायता प्राप्त गरेको कार्यालयले जनाएको छ ।

कार्यालयका प्रमुख अमर दवाडीकाअनुसार कार्यालयले कोभिड १९ का कारण मृत्यु भएका व्यक्तिको परिवारका लागि आर्थिक सहायता लिन आवेदन खुला गरेको थियो । आवेदन आएकाहरुलाई राहत रकम प्रदान गरिएको उहाँले बताउनुभयो । कोभिडबाट मृत्यु भएका २५ जना पुरुष र १३ जना महिलाको परिवारलाई राहत प्रदान गरिएको उहाँको भनाई छ ।

राहत रकम लिनेमा बेंसीशहर नगरपालिकाका ११ जना, मध्यनेपाल नगरपालिकाका ७ जना, मस्र्याङदी गाउँपालिकाका ७ जना, सुन्दरबजार नगरपालिकाका ७ जनाको परिवारले राहत लिएका छन् । यस्तै, दोर्दी गाउँपालिकाका ३ जना, क्व्होलासोंथर गाउँपालिकाका ३ जनाको परिवारले आर्थिक सहायता लिएका छन् । राइनास नगरपालिका र दूधपोखरी गाउँपालिकाबाट राहत रकम लिने परिवार नआएको कार्यालयले जनाएको छ ।

पछिल्लो पटक पनि राहत रकमका लागि २९ जनाको आवेदन प्राप्त भएको कार्यालयले जनाएको छ । निर्णय गरेर सहयोग प्रदान गरिने कार्यालयले जनाएको छ । राहत रकम अभाव भएकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा माग गरिएको छ । कोभिडका कारण मृत्यु भएका नागरिकको परिवारले राहत रकम नपाएको अवस्थामा कार्यालयमा आवेदन दिन अनुरोध पनि गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, गण्डकी प्रदेशको कोभिड १९ को कारण मृत्यु भएका व्यक्तिको परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने सम्बन्धी अवधारणापत्र, २०७८ तथा स्वास्थ्य कार्यालय लमजुङको आर्थिक बर्ष २०७८÷०७९ को बार्षिक स्वीकृत कार्यक्तमअनुसार राहत प्रदान गरिएको सो कार्यालयले जनाएको छ । लमजुङ जिल्लाभित्र स्थायी ठेगाना भई कोभिड १९ को कारण नेपालभित्र मृत्यु भएका व्यक्तिको परिवारलाई मात्रै आर्थिक सहायता दिइएको हो ।

कार्यालयकाअनुसार सहायता लिनका लागि विभिन्न कागजात पेश गर्नुपर्ने हुन्छ । कोभिड १९ पोजेटिभ भएको रिपोर्ट, अस्पतालले दिएको कोभिड १९ को कारण मृत्यु भएको प्रमणपत्र, मृत्युदर्ता प्रमाणपत्रको प्रतिलिपि, आर्थिक सहायता दावी गर्ने मृतकको नजिकको नातेदारको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, आर्थिक सहायता दावी गर्ने नजिकको नातेदारको मृतकसँग नाता प्रमाणित प्रतिलिपि, आर्थिक सहायता दावी गर्ने नजिकको नातेदारको बैंक खाता चेकको प्रतिलिपि, मृतकको नजिकको नातेदार सम्बन्धमा सम्बन्धित वडा कार्यालयको सिफारिसपत्र आवश्यक पर्ने कार्यालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?