logo
२०८१ बैशाख ८ शनिवार



जनकपुरमा सर्लाहीका प्रदेश सांसद र नगरप्रमुखको गाडी तोडफोड

खुला |
प्रदेश |


जनकपुरमा सर्लाहीका प्रदेश सांसद र नगरप्रमुखको गाडी तोडफोड


जनार्जन खत्री
सर्लाही, माघ १२ गते । राष्ट्रिय सभा सदस्य निर्वाचनमा मतदान गर्न मधेश प्रदेशको राजधानी जनकपुर पुग्नुभएका सर्लाहीका प्रदेश सभा सदस्य र नगरप्रमुखको सरकारी गाडीमा बुधबार तोडफोड भएको छ ।
सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले प्रदेश सभा सदस्य अशोक यादव सवार प्रदेश २–०२–००१ झ ००१८ र हरिवन नगरपालिकाका प्रमुख गणेशप्रसाद प्रसाई सवार प्रदेश २–०३–००१ झ ००२० नम्वरको गाडीमा तोडफोड गरेका हुन् । तोडफोडबाट दुवै गाडीका सिसा फुटेका छन् ।
मतदान स्थलतर्फ जाँदै गर्दा जानकी मन्दिर अगाडि एक्कासि जनमत पार्टीका कार्यकर्ता आएर अमानवीय हिसाबले आफू चढेको गाडीमा ढुङ्गामुढा प्रहार गरेका प्रदेश सभा सदस्य अशोक यादवले गोरखापत्रसँग बताउनुभयो । ढुङ्गामुढा रोक्न खोज्दा आफ्नो हातमा चोट लागेको प्रदेश सभा सदस्य यादवले बताउनुभएको छ ।
सर्लाहीको सलेमपुर निवासी यादव प्रदेश मामिला संसदीय समितिको सभापतिसमेत हुनुहुन्छ ।
यस्तै, जनमत पार्टीका कार्यकर्ताले हरिवन नगरपालिकाका प्रमुख गणेश प्रसाद प्रसाई चढेको गाडीमा पनि तोडफोड गरेका छन् । गाडीमा मेयर प्रसाई र उपमेयर रेणुका पौडेल सवार हुनुहुन्थ्यो ।
जनकपुरस्थित तिरहुतिया गाछी भन्ने स्थानमा गाडीमा ढुङ्गामुढा हुँदा मेयर प्रसाईको कन्चटमा सामान्य चोट लागेको छ । घाइते प्रदेश सभा सदस्य यादव र मेयर प्रसाई पनि मतदानका लागि मतदान स्थलमै पुग्नुभएको छ ।
जनमत पार्टीका कार्यकर्ताले पहिले किसानलाई मल अनि मात्रै भोट भन्दै जनकपुरमा बुधबार बिहानैदेखि प्रदर्शन गरिरहेका छन् । राष्ट्रिय सभाको निर्वाचनमा मतदान गर्न मधेश प्रदेशको आठवटै जिल्लाका प्रदेश सांसद र पालिकाका प्रमुख तथा उपप्रमुखहरु जनकपुर पुग्नुभएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?