राजन रावत
हुम्ला, माघ १२ गते । हिमपात भइरहेका बेला सिमकोटस्थित खाद्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडको गोदाममा खाद्यन्न लिनेको घुईचो लागेको छ । लिमिटेडको शाखाले पुर्बसूचना निकालेर खाद्यन्न बिक्री बिहानैबाट सुरु गरेपछि स्थानीय बासिन्दा हिमपात भइरहेकाबेलामा पनि लामबद्ध भएर खाद्यन्न खरिद गर्न लाइन लाग्नुभएको हो ।
सिमकोट गाउँपालिका– ७ को डाँडाफया गाउँका स्थानीय सुरेन्द्र शाहीले हिमपात भइरहेको भएपनि खाद्यन्न लिनुपर्ने बाध्यता रहेको बताउनुभयो । उहाँले लिमिटेडको शाखाले महिनाको एक पटकमात्र खाद्यन्न बिक्रि गर्ने भएकाकारण हिमपातमा पनि चिसो नभनी लाईनमा बसेर लिनुपर्ने बाध्यता रहेको बताउनुभयो । बिहान डेढ घण्टा पैदल हिडेर उहाँ शाखाको गोदाममा खाद्यन्न खरिद गर्न आउनुभएको छ ।
शाखाले बुधबार सिमकोट ७ र ८ वडाका बासिन्दालाई खाद्यन्न बिक्री गरिरहेको छ । परिवारका एक जना सदस्य बराबर चार केजी खाद्यन्न खरिद गर्न उहाँले शाखामा आएर लाईनमा बस्नु भएको छ । न्यून मौज्दातको कारण चार महिनापछि शाखाले खाद्यन्न बिक्री गरेपछि सेवाग्राहीको चिसोमा पनि घुईचो लागेको हो ।
लिमिटेडको शाखा प्रमुख कृष्णप्रसाद अधिकारीले पहिले नै सुचना निकालिएको कारण हिउँ परिरहेको बेला खाद्यन्न बितरण गर्नुपरेको बताउनुभयो । गोदाम बाहिर धेरै सर्वसाधारण खाद्यन्न खरिद गर्न लाईनमा बसेको उहाँले बताउनुभयो । शाखाले बिहान ८ बजेबाट खाद्यन्न बिक्री सुरु गरेको छ । हिउँ परिरहेको कारण तापक्रम माईनस सात डिग्रीमा झरेको भएपनि खाद्यन्न बिक्री भइरहेको उहाँले बताउनुभयो ।
चिसोको प्रबाह नगरि शाखाले खाद्यन्न बिक्री गर्नुपर्ने बाध्यता रहेको बताएको छ । यसका लागि बालबालिका, बृद्धबृद्धादेखि महिला लाईनमा बस्नुभएको छ । खानाको जोहोका लागि चामल किन्नुपर्ने बाध्यता भएकाले पनि चिसोको प्रवाह नगरी स्थानीयहरु लाइनमा बसेर चामल किन्नुभएको छ ।