logo
२०८१ पुष १९ शुक्रवार



अस्पतालमा एम्बुलेन्स नहुँदा सेवाग्राहीलाई दुःख

खुला |
प्रदेश |


अस्पतालमा एम्बुलेन्स नहुँदा सेवाग्राहीलाई दुःख


प्रतीक इच्छुक शर्मा
सल्यान, माघ १२ गते । सल्यान अस्पतालको एम्बुलेन्स बिग्रिएर थन्किएको ३ वर्षसम्म पनि मर्मत नहुँदा सेवाग्राहीलाई सास्ती भएको छ । रुकुम झेुल्नेटाकी कबिता वली सुत्केरी हुनलाई नजिकैको स्वास्थ्य संस्था पुग्नुभयो । तर स्वास्थ्यकर्मीले जिल्ला अस्पताल सल्यानमा रिफर गरिदिएपछि अस्पताल पुग्नलाई उहाँले गाडी रिजर्भ गरेर जानुपर्यो ।

कविताका श्रीमान सन्देश वलीले एम्बुलेन्स नहुँदा महँगो शुल्क तिरेर अस्पताल आउनुपरेको गुनासो गर्नुभयो । दार्मा गाउँपालिका सल्यानकी टीका बिक पनि छोरालाई उपचार गर्न जिल्ला अस्पताल पुग्नलाई ६ हजार भाडा तिर्नुपरेको बताउनुभयो । जिल्ला अस्पताल सल्यानमा एम्बुलेन्स नहुँदा ग्रामीण भेगका नागरिक महंगो शुल्क तिर्न बाध्य भएका छन् ।

जिल्ला अस्पताल सल्यानमा एम्बुलेन्स सञ्चालन नहुँदा स्थानीयहरुले दुःख भएको बताउनुभएको छ । जिल्ला अस्पताल सल्यानका चिकित्सक असीम प्रजापतिले बिग्रिएर अस्पताल परिसरमा थन्किएको एम्बुलेन्स अहिलेसम्म मर्मत नभएको बताउनुभयो । कि मर्मत गर्नुपर्यो कि नयाँ खरिद प्रक्रिया थाल्नुपर्यो, नागरिकलाई दुःख भइरहेको छ उहाँले सुझाव दिनुभयो ।

उहाँका अनुसार एम्बुलेन्स अभावमा बिरामीले सास्ती खेप्दै आएका छन् । अस्पतालमा भर्ना भएका कोरोना संक्रमितलाई बाहिर रिफर गरे पनि अन्यत्र लैजान समस्या हुनेगरेको छ । एम्बुलेन्स खोज्दाखोज्दै केही बिरामीको ज्यान समेत गएको उहाँले बताउनुभयो ।

बिग्रिएको एम्बुलेन्स मर्मत गर्न बढी खर्च लाग्ने र नयाँ खरिद गर्न बजेट अभावका कारण समस्या भएको जिल्ला स्वास्थ्य कार्यालय सल्यानले जनाएको छ । कर्णाली प्रदेश सरकारसँग एम्बुलेन्स खरिदका लागि बजेट माग गरिएको र खरिद गर्ने भनेर निर्देशन आएको जनाएको छ ।

निमित्त स्वास्थ्य ब्यवस्थापक दशरथ श्रेष्ठका अनुसार जिल्ला स्वास्थ्य कार्यालयले अस्पतालका लागि एम्बुलेन्स खरिद गर्ने र त्यसपछि प्रदेश सरकारले बजेट उपलब्ध गराउने भएको छ । १५ सैयाको सल्यान अस्पतालमा सल्यानलगायत रुकुम, रोल्पाका बिरामीहरु उपचार गर्न आउनेगरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?