logo
२०८१ जेष्ठ ५ शनिवार



बझाङमा ‘तपाईंको मास्क खै?’ अभियान तीब्र

खुला |
प्रदेश |


बझाङमा ‘तपाईंको मास्क खै?’ अभियान तीब्र


शैलेन्द्र रोकाया
बझाङ, माघ १२ गते । कोरोना संक्रमण दिन प्रतिदिन बढ्दै गएकाबेला कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय बझाङमा ‘तपाईको मास्क खै?’ सचेतना अभियान शुरु गरेको छ । प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालकोे सहभागितामा बझाङ सदरमुकाम चैनपुर बजारमा सो अभियान अन्तर्गत मास्क नलगाउनेलाई सम्झाइबुझाइ गरेर मास्क वितरण गरेको हो ।

घर बाहिर निस्कँदा अनिवार्य मास्कको प्रयोग गर्न ‘तपाईको मास्क खै?’ लेखिएको व्यानर र प्लेकार्डको प्रयोग गरी सचेतना अभियान शुरु गरेको प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर बिष्टले जानकारी दिनुभयो । सो अभियानको प्रमुख जिल्ला अधिकारी अर्यालले शुभारम्भ गर्नुभयो ।

अभियानले सडक प्रयोगकर्ता आम सर्वसाधरणलाई मास्कको अनिवार्य प्रयोग गर्नुपर्छ भन्ने कुरालाई स्मरण गराउने र मास्कको प्रयोग नगरेकाहरुलाई लगाउन प्रेरित गर्न अभियानको थालनी गरेको उहाँले बताउनुभयो । साथै सरकारी तथा गैरसरकारी कार्यालय जाँदा अनिवार्य खोप कार्ड देखाउनु पर्ने, सार्बजनिक ठाउँमा भिडभाड नगर्न समेत आग्रह गरिएको प्रनाउ बिष्टले बताउनुभयो ।

जिल्ला कोभिड १९ संकट ब्यवस्थापन समिति बैठकले कोरोना सङ्क्रमण बढ्न थालेपछि मास्कको अनिवार्य प्रयोग गर्नेलगायतका जनस्वास्थ्य सुरक्षाका मापदण्डको कडाइका साथ पालना गर्न निर्णय गरेपछि जिल्ला प्रशासन कार्यालयले आदेश समेत जारी गर्दै कडाइ गरेको छ ।

माघ ७ गतेदेखि सार्वजनिक स्थान र यातायातमा खोप कार्ड अनिवार्य गरिएको छ भने भिडभाड हुने गतिविधि नगर्ने, २५ जनाभन्दा बढी मानिस भेला नहुने, जिल्ला बाहिरबाट आउनेहरुको अनिवार्य एन्टिजेन परीक्षण गर्ने, स्थानीय तहमा आइसोलेसन व्यवस्थापन गर्ने निर्णय गरेको छ । माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने लगायतका निर्णय तथा आदेशहरु जारी भएका छन् ।

पछिल्लो समय ११२ जना कोरोना संक्रमित भए पनि सबैको अवस्था सामान्य रहेको जिल्ला अस्पताल बझाङले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?