सिराज खान
नेपालगञ्ज, माघ १२ गते। अत्याधिक चिसो र शीतलहरको कारण जनजीवन प्रभावित भएपछि विपद् व्यवस्थापन समिति बाँकेले जिल्लाका विपन्न समुदायलाई कम्बल वितरण गरेको छ।
डुुडुवा गाउँपालिका ६ मगन्ता टोलका अति विपन्न मगन्ता समुदायका ४२ जनालाई बुधबार वडामै गएर कम्बल वितरण गरिएको हो। वडा कार्यालयको समन्वयमा बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीसहितको टोलीले डुडुवाको वडा नम्बर ६ मगन्ता टोलमा पुगेर त्यहाँका ४२ जना अतिविपन्नलाई कम्बल वितरण गरेको हो।
परम्पराकालबाट मागेर गुजारा चलाउँदै आएका मगन्ता समुदायलाई चिसोले जीवन यापनमा समस्या भएको जानकारी पाएर कम्बल वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी केसीले बताउनुभयो।
मगन्ता समुदायलाई सहायक प्रमुख जिल्ला अधिकारी केसी, जिल्ला प्रशासन कार्यालय बाँकेका अधिकृत रामकुमार सोनकर, वडा अध्यक्ष मोहनराम मिश्र, विपद व्यवस्थापन समिति बाँकेका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवाली लगायतले कम्बल वितरण गर्नुभयो।
केही दिन पहिले पनि नेपाली सेनाले पनि मगन्ता समुदायका सय जनालाई कम्बल वितरण गरेको थियो। सो बेला नपाएका थप ४२ जनालाई विपद व्यवस्थापन समितिले वितरण गरेको हो।
यसअघि पनि समितिले जिल्ला प्रहरी कार्यालयका थुनुवा, निलसागर असहाय केन्द्रका वृद्धवृद्धा र बाल सुधार गृहका बालकलाई कम्बल वितरण गरिसकेको छ।