logo
२०८० चैत्र १६ शुक्रवार



१० वर्ष रित्तिएको घर फर्केपछि...

खुला |


१० वर्ष रित्तिएको घर फर्केपछि...
सांकेतिक तस्बिर


बागलुङ, माघ १३ गते । गाउँको घर रुग्ण र बारी बञ्जर भइसकेको थियो । कुशल राना परिवारसहित काठमाडौं बस्नुहुन्थ्यो । भविष्य खोज्दै १० वर्षअघि सहर पस्नुभएको थियो, उहाँ । काठमाडौं छँदै राना कतार पुग्नुभयो । त्यहाँ टिक्न नसकेपछि दुई वर्षमै फर्किनुभयो । चार वर्ष म्याग्दीको जलविद्युत् परियोजनामा काम गर्नुभयो । त्यसपछि भने रानाले जागिरे मनस्थिति त्याग्नुभयो ।

जैमिनी नगरपालिका–७ जैदी बोरका रानाले गाउँ फर्कने निधो गर्नुभयो । १० वर्षपछि थातथलो फिर्दा घर बस्न लायक थिएन । बारी घाँस र झाडीले ढाकिएको थियो । तैपनि रानाको मन मरेन । आफ्नै जन्मथलोमा केही गरि छाड्ने हुटहुटीले रानालाई घच्घचाइरह्यो । जीर्ण बनेको घरगोठ सिँगार्नुभयो । बाँझो पल्टिएको बारीलाई हराभरा पार्नुभयो । अब कतै नभौँतारिई गाउँमै आयआर्जनको बाटो समात्ने अठोट उहाँले लिनुभयो । त्यसको पहिलो पाइला रानाले बाख्रापालनबाट चाल्नुभयो । ३७ वर्षीय रानाले व्यावसायिक रुपमा बाख्रापालन थालेको वर्ष दिन बित्यो । उहाँले चलाएको ‘राना कृषि तथा पशुपछी फार्म’ मा अहिले २२ वटा बोयर जातका बाख्रा छन् ।

रु तीन लाख पर्ने ९० किलोको बोका पनि रानाको फार्ममा छ । १६ महिने त्यो बोकालाई अर्को वर्षसम्म पालेर रु चार लाखसम्म पार्ने योजनामा उहाँ हुनुहुन्छ । रानाले उक्त बोका रायडाँडाका किसान चिरञ्जीवी केसीकोबाट गत वर्ष किनेर ल्याउनुभएको हो । प्रजनन र नश्ल सुधारका लागि बोका पालेको उहाँको भनाइ छ । फार्ममा बोयर बोका र स्थानीय खरी जातका पाठीबाट नश्ल सुधार गर्ने गरिएको छ । बाहिरका किसानले पाठीलाई प्रजननका लागि बोकासँग ल्याउँदा रु एक हजार ५०० सम्म शुल्क तिर्छन् ।

खोर निर्माणदेखि फार्मको संरचना तयार पार्दा अहिलेसम्म रु १० लाख लगानी भइसकेको रानाले बताउनुभयो । “अहिले लगानीकै चरणमा छु, ऋणधन गरेर भएपनि फार्मलाई अझ विस्तार गर्ने सोचमा छु”, उहाँले भन्नुभयो, “आउँदो वर्षदेखि बल्ल आम्दानी आउन सुरु होला ।” बोयर बाख्राको बजार माग र मूल्य बढी छ । व्यावसायिक पालनका लागि पाठापाठीको पनि उत्तिकै खोजी हुन्छ ।

रानाले बोयरपालनमा जिल्लाकै ‘नमूना फार्म’ बनाउने लक्ष्य लिएको बताउनुभयो । घर वरपरको बारी र खाली जग्गामा उहाँले बाख्रपालनलाई चाहिने उन्नत घाँस खेती गर्नुभएको छ । “बाली लगाउन छाडेपछि बाँझो भएको बारीमा अहिले सुपर नेपियर, राई खनियो, बडहरलगायत उन्नत जातका घाँस खेती भइरहेको छ”, उहाँले भन्नुभयो । बोयर बाख्रालाई उच्च प्रोटिनयुक्त घाँस चाहिने भएकाले २५ रोपनी क्षेत्रफलमा उन्नत जातको घाँसखेती गरेको उहाँको भनाइ छ ।

जैमिनी नगरपालिकाका पशु प्राविधिक नेत्र आचार्यका अनुसार बोयरको तौल र शारीरिक वृद्धि छिटो हुन्छ । “बोयर बाख्रा दिनमा एक सय ५० देखि दुई सय ग्रामसम्म बढ्छ, दुई वर्षमा एक सय २० किलोसम्म हुन्छ”, उहाँले भन्नुभयो । पशु प्राविधिक आचार्यले पहाडी हावापानीमा बोयर जातको बाख्रापालन फस्टाउने गरेको बताउनुभयो । बाख्रापालक किसानलाई खोर सुधार, घाँस, औषधिलगायतमा अनुदान दिएर नगरपालिकाले सघाउँदै आएको उहाँको भनाइ छ ।

जैदीको धवलागिरि कृषि सहकारीमार्फत व्यावसायिक बाख्रापालनमा किसानले सहायता पाउँदै आएका छन् । सहकारीले गत वर्ष तीनवटा बोयर जातका बोका गाउँमा वितरण गरेको थियो । रानाको फार्मले पनि यो वर्ष प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत रु एक लाख अनुदान पाएको छ । धन कमाउने आशमा धैरेतिर हण्डर खाएपछि घर फर्केर आफैँ उद्यम गर्न कस्सिनुभएका रानाको मेहेनत देखेर छरछिमेकी पनि दङ्ग छन् । सहर छिर्नुभएका उहाँ यसरी गाउँ फर्कनुहोला र झण्डै बिर्सिसकेको घरबारी सम्हाल्नुहोला भनेर धेरैले पत्याएका थिएनन् । रानाका लागि भने सहरको सङ्घर्ष त्यति सजिलो थिएन ।

श्रीमती माया र दुई छोरालाई काठमाडौंमै छाडेर गाउँ फर्कनु अर्को चुनौती थियो, रानालाई । आखिर, आँट र सपनाले डो¥याएर उहाँलाई आफ्नै जन्मथलो ल्याइपु¥यायो । गाउँको घरमा अहिले राना एक्लै बस्नुहुन्छ । “बुवाआमा बितिसक्नुभयो, एउटा दाइ उहाँ पनि काठमाडौं हुनुहुन्छ, श्रीमती, छोराहरु उतै बसेर पढ्छन्”, उहाँले भन्नुभयो । घरधन्दादेखि बाख्राको स्याहारसुसार उहाँ एक्लैले भ्याउनुहुन्छ । “कामले गर्दा खासै फुर्सद हुन्न, यसमै खुसी छु, आफ्नै गाउँठाउँमा रमाएको छु”, रानाले भन्नुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?