logo
२०८० चैत्र १६ शुक्रवार



ट्रयाक खुलेपछि हीरामायाको मोटर चढ्ने सपना

खुला |
प्रदेश |


ट्रयाक खुलेपछि हीरामायाको मोटर चढ्ने सपना


ठाकुरप्रसाद आचार्य
म्याग्दी, माघ १४ गते । जिल्लाको दुर्गम धौवलागिरि गाउँपालिका २ लमसुङकी ८२ वर्षीया हीरामाया सिङ्किजा पुन ऊ वेला खसौली पुगेर मोटर देख्नुभयो । ‘मोटर चढ्ने ठूलो रहर उहाँमा थियो । “बुवाआमासँगै नुनतेल लिन खसौली गएकी थिँए त्यसबेला मोटर देख्दा अचम्म लाग्थ्यो” हिरामायाले अनुभव सुनाउनुभयो ।

“आजभोलि सवै गाउँमा मोटर पुग्यो रे, हाम्रो गाउँमा कहिले आउला भन्ने हुन्थ्यो । अब त घर आङ्गनबाटै मोटर चढ्न पाइएला कि ! बुढेशकालमा भएपनि घरकै आङ्गनबाट यसपाली मोटर चढ्ने रहर पुरा होला भन्ने लागेको छ” उहाँले सुनाउनुभयो ।

जिल्लाकै दुर्गम लुलाङ गाउँमा सडक पु¥याउन कठिन मानिएको मुना–लुलाङ सडकअन्तर्गत पर्ने महतला भीरमा दुई वर्ष लगाएर सडक ट्रयाक खुलेपछि लुलाङवासीको मोटर चढ्ने रहर पुरा हुनेभएको छ । यो स्थानमा करिब एक सय मिटर सडक निर्माण गर्न दुई वर्ष लागेको उहाँले बताउनुभयो ।

धौवलागिरि गाउँपालिका १ र २ मा पर्ने गुर्जा र लुलाङ तथा बागलुङको ढोरपाटन क्षेत्रलाई गाउँपालिकाको केन्द्र मुनासँग जोड्ने मुना–लुलाङ सडकअन्तर्गत पर्ने महतला भीरमा दुई वर्षको प्रयासपछि सडक ट्रयाक खुलेको हो ।

पूर्वाधार विकास कार्यालय म्याग्दीले दरवाङ–बिम–भारबाङ–ताकम–मुना–लुलाङ–गुर्जा सडक आयोजना अन्तर्गत महतला भीरमा सडक निर्माणका लागि २०७६ साल पुषको पहिलो हप्ता ठेक्का लागेको थियो । एक करोड ४९ लाख रुपियाँ लागत अनुमान गरिएको सो योजनामा काठमाडौँको बिएन कन्सट्रक्सनले ७८ लाख ९९ हजार ३१० मा ठेक्का लिएको थियो ।

२०७७ साल असार मसान्तसम्म म्याद भएको त्यस आयोजनामा खोरिया, लमसुङ र लुलाङका बासिन्दाको विवादका कारण सम्झौता भएको १५ महिनापछि २०७७ साल चैतमा काम सुरु गरिएको थियो । पूर्वाधार विकास कार्यालयका प्रमुख सन्तोष अर्यालले महतला भीरमा दुईवटा प्याकेजमा भएको ठेक्कामार्फत सडकको मार्ग खोलिएको बताउनुभयो ।

महतला भीरमा सडक ट्रयाक खुलेसँगै अब लुलाङमा सडक पुग्ने उहाँले बताउनुभयो । भौगोलिक कठिनाई र स्थानीयवासीवीचको विवादका कारण समयमै काम हुन नसकेको उहाँले बताउनुभयो । आर्थिक वर्ष २०७७–७८ मा दुई हजार घनमिटर चट्टान फुटाएर सडक बनाउन माछापुच्छ«े निर्माण सेवाले ठेक्का लिएको काम गत असारमै सकिएको थियो ।



२०७६–७७ मा बिएनले ठेक्का लिएको एक हजार पाँचसय घनमिटर कडा चट्टान काट्ने काम यसपाली सकिएको छ । अक्करे पहाडमा करिब एक सय मिटर दूरीमा चट्टान काटेर मार्ग खोलिए पनि ग्रेड मिलाउन र फराकिलो बनाएर यातायातका साधन चल्न योग्य बनाउन अझै केही महिना लाग्ने पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख अर्यालले बताउनुभयो ।

खोरियाभन्दा अगाडि मरेनी र लमसुङसम्म सडक पुगेको छ । महतलाको भीरमा खुलेको ट्याकमा यातायात सञ्चालनयोग्य बनाएमा आवतजावत र ढुवानीमा सहज हुने स्थानीयवासी ज्ञानबहादुर पाइजाले बताउनुभयो ।

महतलादेखि केहि तलबाट दरखोलाको दायाँ किनारबाट सडक खन्नुपर्ने माग गर्दैआएका लुलाङ, लमसुङ र खोरियाका बासिन्दाबीच गत वर्ष गाउँपालिकाको पहलमा महतलाभन्दा अगाडि खोरियाको फेदीबाट लमसुङतर्फ जाने सडक बनाउने सहमति भएको थियो । सहमतिअनुसार गत वर्ष गाउँपालिकाले विनियोजन गरेको ४० लाख रुपियाँ बजेटबाट खोरियाको फेदीदेखि लमसुङको सिमानासम्म पुगेको सडकलाई पूर्णता दिनुपर्नेमा लमसुङका भक्त सिंकिजा पुनमगरले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?