दीपकप्रसाद गौतम
वीरगञ्ज, माघ १५ गते । वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत २ जना सङक्रमितको शनिबार उपचारको क्रममा मृत्यु भएको छ । नारायणी अस्पतालका कोभिड सेक्सन संयोजक डा. उदयनारायण सिंहका अनुसार नारायणी अस्पतालमा उपचाररत २ जना सङक्रमितको उपचारको क्रममा शनिबार मृत्यु भएको हो ।
बिहान साढे ४ बजे एक जना ७३ वर्षीय वृद्ध पुरुष र बिहान साढे ७ बजे एक ६५ वर्षीय वृद्ध महिला गरी शनिबार बिहान अस्पतालमा उपचाररत २ जना सङक्रमितको उपचारको क्रममा मृत्यु भएको हो । अस्पतालका कोभिड सेक्सन संयोजक डा.सिंहका अनुसार वीरगञ्ज महानगरपालिका ३ प्रगतिनगरका ७३ वर्षीय सङक्रमित पुरुषको शनिबार बिहान मृत्यु भएको हो । त्यसैगरी बारा जिल्लाको कलैया उपमहानगरपालिका ५ की ६५ वर्षिया संक्रमित महिलाको बिहान साढे ७ बजे मृत्यु भएको हो ।
मुटु रोगको समस्या रहेका ७३ वर्षिय वृद्ध पुरुषको स्वास्थ्य अवस्था जटिल भएपछि शुक्रबार अस्पतालमा भर्ना गरिएको थियो । शुक्रबार एन्टिजेन विधिबाट परीक्षण गर्दा कोरोना सङक्रमण पुष्टि भएको थियो । स्वास्थ्य अवस्था जटिल रहेकाले उहाँलाई आइसियु कक्षमा भर्ना गरेर भेन्टिलेटरमा उपचाररत अवस्थामा शनिबार बिहान मृत्यु भएको अस्पतालका कोभिड संयोजक डा. सिंहले बताउनुभयो । मृत्यु भएका ती वृद्ध पुरुषले कोभिड विरुद्धको खोपको दुबै डोज लगाएको डा. सिंहले बताउनुभयो ।
शुक्रबार नै स्वास्थ्यमा समस्या आएपछि अस्पतालमा भर्ना हुनुभएका ६५ वर्षिय वृद्ध महिलाको एन्टिजेन विधिबाट परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । महिलाले कोभिडविरुद्धको खोपको दुवै डोज लिइसकेको परिवारजनले बताएको डा. सिंहले जानकारी दिनुभयो ।
कोरोनाको तेस्रो लहर सुरु भएयता वीरगञ्जमा मृत्यु हुने सङक्रमितको संख्या ६ पुगेको छ । यसअघि माघ ६ गते, माघ ८ गते, माघ ११ गते र माघ १४ गते एक–एक जना सङक्रमितको उपचारको क्रममा मृत्यु भएको थियो ।
माघ ६ गते नारायणी अस्पतालमा बाराको महागढीमाई नगरपालिका ६ का ५० वर्षीय संक्रमित पुरुषको मृत्यु भएको थियो । माघ ८ गते वीरगञ्ज मेट्रोसिटी हस्पिटलमा बाराको विश्रामपुर गाँउपालिका ४ बतराका २० वर्षीया संक्रमित युवतीको मृत्यु भएको थियो । त्यसैगरी माघ ११ गते बारा जिल्लाकै कोल्हबी नगरपालिका ३ का ६० वर्षीय संक्रमित पुरुष र माघ १४ गते वीरगञ्ज महानगरपालिका २७ का ६५ वर्षिय महिलाको नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।
काेरोनाको पहिलो लहरका बेला वीरगञ्जमा ८६ जना र दोस्रो लहरका बेला ३४१ जना सङक्रमितको मृत्यु भएको थियो । डा. सिंहका अनुसार हाल नारायणी अस्पतालमा १२ जना सङक्रमितको आइसियुमा राखेर उपचार गरिदैछ । उपचाररत १२ जनामध्ये ६ जनालाई अक्सिजन दिएर उपचार भइरहेको डा. सिंहले बताउनुभयो । अक्सिजन दिनुपरेका ६ जनामध्ये ३ जनाको अवस्था जटिल रहेको उहाँले बताउनुभयो ।