जयकृष्ण यादव
इनरुवा, माघ १५ गते । सुनसरीको सिमावार्ती क्षेत्र देवानगञ्ज गाउँपालिकाका किसान गुलाबचन्द मेहताले बजारमा एक वर्षदेखि मल अभाव भएकाले अर्गानिक आलु गर्दैआउनुभएको छ । बजारमा रसायनिक मल नपाएकाले आफ्नै घरको फोहोर र गाईबस्तुको गोबरगौंतलाई जम्मा गरी प्राङ्गारिक मलको प्रयोग गरी अर्गानिक आलु खेती गर्नुभएको हो ।
देवानगञ्ज गाउँपालिका १ मध्यहर्षाही, ३ र ४ कप्नागञ्ज र वडा ५ साहेवगञ्जका किसानले वर्षदेखि रसायनीक मल अभाव भएको भन्दै आफ्नै घरको प्राङ्गारिक मलको प्रयोग गरी अर्गानिक आलुखेती गर्दैआएको स्थानीय विवेक मेहताले जानकारी दिनुभयो । देवानगञ्ज र कप्तानगञ्जका किसान पच्छिलो समय आलुखेतीतर्फ आर्कषित भएको बताएका छन् । बलौटे माटो र आलुका लागि उर्बरभुमि भएकाले किसानहरु आलु खेतीतर्फ आर्कषित बनेको देवानगञ्ज गाउँपालिका ४ कप्तानगञ्जकी रिता मेहताले बताउनुभयो ।
मेहताका अनुसार देवानगञ्ज गाउँपालिकामा मात्रै २ सय बिघा बढी क्षेत्रमा आलुखेती गरिएको छ । किसानले केही समस्या भएपनि आलुखेती छाडन् नसकेको बरु माटोले साथ दिएकाले आकर्षण बढ्दो क्रममा रहेको स्थानीय रामप्रसाद मेहताले बताउनुभयो । उहाँकाअनुसार किसानले सिचाई मलखाद बीउ र बजार समेतको समस्याबीचमा आलुखेती गर्न बाध्य रहेको बताएका छन् ।
खेती नगरे अर्को विकल्प नरहेकाले सीमावर्ती क्षेत्रमा आलु खेतीतर्फको आकर्षण बढेको उहाँको भनाइ छ । मेहताले आफू ३ बिघा क्षेत्रफलमा आलु खेती गरेको बताउनुभयो । प्रतिबिघा २ लाख रुपियाँ लगानी गरेर ४ लाख रुपियाँ आम्दानी गर्ने लक्ष्य राखेको उहाँले बताउनुभयो । आफूहरुलाई राज्यले उपेक्षा गरेको र मलखाद पारीबाट ल्याउँदा धरपक्कड गर्ने, नेपाली बजारमा मल नपाउने र उत्पादन भएको आलुको मूल्य नपाउने गरेको उहाँको गुनासो छ ।
जेनतेन गरेको आलु खेतीबाट आएको आम्दानीले छोराछोरीको पढाइ, घरखर्च र आवश्यक पर्दा शिक्षा, स्वास्थ्य र आवासका लागि बचत समेत गर्दैआएको अर्का किसान गीता मेहताले बताउनुभयो । उहाँका अनुसार यो क्षेत्रमा २ कठ्ठा देखि १० बिघासम्म आलुखेती गर्ने किसान छन् । किसान श्यामदेव मेहताका्अनुसार सिंचाइ र मल अभावमा आलु खेतीको लागि भूमिगत पानी र घरायसी मलको प्रयोग गर्न किसान बाध्य भएका छन् ।