logo
२०८१ बैशाख २३ आईतवार



कोभिडका कारण सुदूरपश्चिममा सरकारी कार्यालय ठप्प हुँदै

खुला |
प्रदेश |


कोभिडका कारण सुदूरपश्चिममा सरकारी कार्यालय ठप्प हुँदै


अविनाश चौधरी
धनगढी, माघ १५ गते । सुदूरपश्चिम प्रदेशमा सरकारी कार्यालयहरुले कोभिडको कारण देखाउँदै धमाधम सेवा स्थगन गर्न थालेका छन् । कर्मचारी, जनप्रतिनिधि लगायतमा कोरोना सङ्क्रमण भएपछि जिल्ला प्रशासन कार्यालयदेखि लिएर स्थानीय तहसम्मले सेवा स्थगन गर्न थालेका हुन ।

हालसम्म कैलालीको जिल्ला प्रशासन कार्यालयसहित पाँच स्थानीय तह, कञ्चनपुरको जिल्ला प्रशासन कार्यालयसहित तीन स्थानीय तहले केही दिनका लागि सेवा स्थगन गरेको बताएका छन् । यसैगरी, डडेल्धुराको भागेश्वर गाउँपालिकाले पनि कर्मचारीमा सङ्क्रमण पुष्टि भएपछि कार्यालयले प्रदान गर्ने अत्यावश्यकबाहेक सबै सेवा माघ १६ गतेसम्मका लागि स्थगित गरेको जनाएको छ ।

सेवा प्रदायक कार्यालयमा भीडभाड हुने गरेकाले कार्य सम्पादनको क्रममा कर्मचारीहरु सङ्क्रमित भइरहेका छन् । सो अवस्थामा कार्यालयबाटै कोरोना सङ्क्रमण अझ बढ्न सक्ने भएकाले अत्यावश्यकबाहेक अन्य सेवाहरु स्थगित गरिएको ती कार्यालयले जनाइएका छन् ।

कैलाली जिल्ला प्रशासन कार्यालयले माघ ९ गतेदेखि र कञ्चनपुर जिल्ला प्रशासन कार्यालयले माघ ७ गतेबाट अर्को सूचना जारी नभएसम्मका लागि सेवा स्थगित गरेको छ । कार्यरत १५ जना कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको र अरु कर्मचारीमा पनि मिल्दोजुल्दो लक्षण देखिएपछि अत्यावश्यकबाहेक सबै सेवा स्थगन गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताउनुभयो ।

उहाँकाअनुसार कोभिडसँग मिल्दोजुल्दो लक्षणसहित बिरामी परेका कर्मचारी पनि होम आइसोलेसनमा बसिरहेका छन् । यसैगरी, स्थानीय तहमा कर्मचारी र जनप्रतिनिधि सङ्क्रमित भएपछि स्थानीय तहको सेवा पनि स्थगित भएका छन् ।

सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढी उपमहानगरपालिकाले माघ १८ गतेसम्मका लागि सेवा स्थगन गरेको छ । धनगढी उपमहानगरपालिकामा कार्यरत सरसफाइका कर्मचारी, स्वास्थ्यकर्मी, जनप्रतिनिधि गरेर २२ जनामा कोरोना सङ्क्रमण भएको सो कार्यालयले जनाएको छ ।

कोरोना सङ्क्रमण भएपछि स्वास्थ्य, दमकल, सरसफाइबाहेक अरु सबै सेवा बन्द रहेको स्वास्थ्य शाखामा कार्यरत सिनियर अहेब लक्ष्मीराज उपाध्यायले जानकारी दिनुभयो । ‘स्वास्थ्य शाखाको काम रोकिएको छैन, तर अरु शाखामा कर्मचारीमात्रै उपस्थित भइरहेका छन्’, उहाँले भन्नुभयो । ‘म आफैपनि सङ्क्रमित थिएँ । निगेटिभ रिपोर्ट आजै आएको हो ।’

यस्तै, गोदावरी नगरपालिकामा कार्यरत १८ जना कर्मचारी सङ्क्रमित भएका छन् । सो नगरपालिकामा कार्यरत कर्मचारी सङ्क्रमित भएपछि माघ १५ गतेसम्मका लागि कार्यालय नै बन्द गरिएको थियो । अत्यावश्यकबाहेक सबै सेवा स्थगित रहेको र कर्मचारी पनि कार्यालयमा उपस्थित नहुने गरेको स्वास्थ्य शाखामा कार्यरत अधिकृत नवराज अवस्थीले बताउनुभयो ।

यसैगरी, भजनी नगरपालिकामा कार्यरत १३ जना र जोशीपुर गाउँपालिकामा कार्यरत तीन जना कर्मचारी सङ्क्रमित छन् । भजनी नगरपालिकाले बिहीबारदेखि माघ १९ गतेसम्म र जोशीपुर गाउँपालिकाले माघ १८ गतेसम्मका लागि सेवा स्थगन गरेको छ ।

नगरपालिकामा कार्यरत अरु पनि कर्मचारी बिरामी परेको भजनी नगरपालिकाका सूचना अधिकारी चन्द्रदेव भट्टले बताउनुभयो । ‘जाँच गरेपछि त सम्भवतः सबैको पोजेटिभ नै रिपोर्ट आउने हो’, उहाँले भन्नुभयो । ‘बिरामी कतिपय कर्मचारीहरु जाँच नगराइ आइसोलेसनमा छन् ।’ बिरामी नभएका कर्मचारीहरु भने कार्यालयको आन्तरिक कामका लागि उपस्थित भइरहेको सूचना अधिकारी भट्टले बताउनुभयो । कैलालीको गौरीगंगा नगरपालिकाले माघ १२ गतेदेखि अर्को सूचना जारी नगरुञ्जेलसम्मका लागि सेवा स्थगित गरेको छ ।

कर्मचारी र जनप्रतिनिधिमा कोभिड सङ्क्रमण भएपछि कञ्चनपुरको भीमदत्त नगरपालिकाले माघ १८, कृष्णपुर नगरपालिकाले माघ ९ गतेदेखि अर्को सूचना जारी नगरुञ्जलेसम्मका लागि र वेदकोट नगरपालिकाले माघ १७ गतेसम्मका लागि अत्यावश्यकबाहेक बाँकी अरु सेवा स्थगन गरेको जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?