धर्बेन्द्र झा
जनकपुरधाम, माघ १५ गते । नेपालमा राजनीतिक परिवर्तनका लागि भएको लोकतान्त्रिक आन्दोलनमा शहादत प्राप्त गर्नुभएका शहिद दुर्गानन्द झाको ५९ औं बलिदानी दिवस धनुषामा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ ।
शनिबार शहिद झाको पैतृकगाँउ जटहीस्थित समाधिस्थलमा पुगेर नेपाली काँग्रेसका नेता कार्यकर्ताले श्रद्धान्जलि अपर्ण गरेका छन् । काँग्रेस धनुषाले आयोजना गरेको सो कार्यक्रममा मधेस प्रदेशका भौतिकपूर्वाधार तथा विकासमन्त्री रामसरोज यादवले शहिद झाले देशमा राजनीतिक परिवर्तनका लागि दिएको योगदानलाई भुल्न नहुने बताउनुभयो ।
देशमा राजनीतिक परिवर्तन भएको आभास आमनेपाली जनताले गरेपछि मात्रै शहिदहरुको सपना साकार हुने भन्दै शहिदहरुको सपन्ना साकार गर्न परिवर्तन हुने किसिमले तिनै तहका सरकारले काम गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा पुर्वमन्त्री रामकृष्ण यादवले शहिद झाले दिएको योगदानको कदर गर्दै काँग्रेसका नेताकार्यकर्ता उहाँकै बाटोमा अघि बढनुपर्ने बताउनुभयो ।
प्रतिनिधिसभा सदस्य स्मृतिनरायण चौधरीले शहिद झामा परिवार भन्दापनि देशप्रतिको मोह भएको बताउनुभयो । युवा अवस्थामै निर्दलिय पञ्चायती व्यवस्था र तनाशाहको विरोध गर्दै जनकपुर आएकोवेला पुर्वराजा महेन्द्रमाथि बम प्रहार गरी साहास देखाएकोबारे उहाँले चर्चा गर्नुभयो ।
त्यसैगरी मधेस प्रदेशको राजधानी जनकपुरधाममा शहिद दुर्गानन्द झा स्मारक निर्माण समितिले आज गरेको कार्यक्रममा मधेस प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामसरोज यादवले प्रदेश सरकारले शहिद झाको नाउँमा पार्क बनाउने सोच बनाएको बताउनुभयो । शहिद दुर्गानन्द स्मारक निमार्ण समितिका अध्यक्ष एवम बरिष्ठ पत्रकार राजेश्वर नेपालीले शहिद झाको योगदानको चर्चागर्दै जनकपुरधाम नगरपालिका क्षेत्रभित्रमा झाको शालिक छिटट्ै स्थापना हुने बताउनुभयो ।