logo
२०८१ मंसिर ७ शुक्रवार



नेपाल रेल्वे कम्पनीमा चार दिनदेखि तालाबन्दी

खुला |
प्रदेश |


नेपाल रेल्वे कम्पनीमा चार दिनदेखि तालाबन्दी


लक्ष्मी चौधरी
जनकपुरधाम, माघ १६ गते । जनकपुरधामस्थित नेपाल रेल्वे कम्पनीको कार्यालयमा पूर्व कर्मचारीले दोस्रो चरणको आन्दोलनमा तालाबन्दी गरेका छन् । रेल्वे कम्पनीले पुराना कर्मचारीलाई बिनाकारण निकालेको भन्दै रेल्वेका पुरानो कर्मचारी सङ्घर्ष समितिले बिहीबारदेखि जनकपुरधामस्थित रेल्वे स्टेशनमा रहेको नेपाल रेल्वे कम्पनीको कार्यालयमा तालाबन्दी गरेको हो ।

कम्पनीका महाप्रबन्धक निरञ्जन झाले पुराना कर्मचारीलाई बिनाकरण निकाली नयाँ कर्मचारी नियुक्त गरी तालिम सञ्चालन गर्दैआएकोले सो तालिम सञ्चालन रोक्न र पुराना कर्मचारीलाई पुनर्वहालीको माग राख्दै कर्मचारीहरु आन्दोलन गरिरहेको बताउनुभयो । दुई सातादेखि धर्ना, प्रदर्शन गर्दै आएपनि सुनुवाइ नभएपछि बाध्य भएर तालाबन्दी गरेको समितिले जनाएको छ ।

सङ्घर्ष समितिले मुख्यमन्त्री कार्यालय, मधेसको भौतिक पूर्वाधार तथा विकास मन्त्रालय र जिल्ला प्रशासन कार्यालय धनुषामा ज्ञापनपत्र बुझाएको छ । कम्पनीका महाप्रबन्धक झाले रेल सञ्चालनका लागि पुस २७ मा ५५ जना नयाँ कर्मचारीलाई दैनिक ज्यालादारीमा नियुक्त गरेपछि विगतमा रेलसम्बन्धी तालिम लिएका कर्मचारीहरु आन्दोलनमा उत्रेको बताउनुभयो ।

यसअघि कम्पनीका पूर्व महाप्रबन्धक गुरुप्रसाद भट्टराईका पालामा रेल सञ्चालनका लागि भन्दै ज्यालादारीमा १ सय ५१ जना कर्मचारीलाई नियुक्त गर्नुभएको थियो । पूर्व कार्मचारी अजय गोइतले आफुलाई पनि फोनमार्फत बोलाइ तालिमसमेत दिएको बताउनुभयो । दैनिक ज्यालादारीमा काम गर्दैगर्दा वर्तमान महाप्रबन्धकको नियुक्तिपछि आफूलगायत त्यसबेलाका ज्यालादारी कर्मचारी सबैलाई हटाएको उहाँले बताउनुभयो ।

गोइत २०५८ सालदेखि रेल्वेमा काम गर्दैआएको र २०७० सालमा रेल बन्द भएपछि घरमै बस्दैआएको बताउनुभयो । रेल सञ्चालन हुने भनेपछि दैनिक ज्यालादारीमा ५ महिना काम गरे पनि तीन महिनाको पारिश्रमिक मात्र पाएको उहाँको भनाइ छ । रेल सञ्चालन भए काममा पुनः फर्किने आसमा बसेको तर अहिलेसम्म कुनै खबर नभएको गोइतले बताउनुभयो । गोइत रेल्वेमा सहायक स्टेशन मास्टर पदमा कर्यरत हुनुहुन्थ्यो । यसअघि सोही तालिमका लागि कम्पनीले झण्डै करोड रुपियाँ खर्चेको थियो ।

लोकसेवा आयोगले कम्पनीको विनियमावलीमा करारमा कर्मचारी भर्ना गर्न नसकिने व्यवस्था भएकाले करारमा कर्मचारी भर्ना प्रक्रियालाई स्थगन गर्न निर्देशन दिएको थियो । करारमा कर्मचारी भर्ना प्रक्रिया स्थगन भएको डेढ वर्ष बितिसक्दा पनि आवेदकहरूको आवेदन शुल्क फिर्ता गरिएको छैन । नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको नेपाल रेल्वे कम्पनी लिमिटेडले कुर्था–जयनगरसम्मको ३५ किलोमिटर दूरीमा रेल सञ्चालन गर्ने तयारी भइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?