logo
२०८१ बैशाख २३ आईतवार



कैलालीमा शीतलहरले जनजीवन प्रभावित

खुला |
प्रदेश |


कैलालीमा शीतलहरले जनजीवन प्रभावित


अविनाश चौधरी
धनगढी, माघ १६ गते । कैलालीमा शीतलहरले जनजीवन प्रभावित भएको छ । आइतबार विहानैदेखि लागेको शीतलहर र हुस्सुका कारण चिसो बढेपछि यहाँको जनजीवन प्रभावित भएको हो । शनिबार हल्का घाम लागे पनि शीतलहर र हुस्सुका कारण आइतबार दिनभरि घाम लाग्न सकेको छैन । चिसोले गर्दा मान्छेलाई नियमित कामकाज गर्न समस्या भएको छ । जाडो छल्न विभिन्न ठाउँमा आगो बालेर स्थानीयहरु ताप्न थालेका छन् ।

एक्कासि चिसो बढेपछि जाडो छल्न आगो ताप्नुपरेको धनगढी उपमहानगरपालिका–१ एलएन चौकका अर्जुन भाटले बताउनुभयो । उहाँले धनगढी उपमहानगरपालिकाबाट दाउरा ल्याएको जनाउनुभयो ।

शीतलहरले मान्छेलाई मात्रै समस्या नभइ घरपालुवा जनावर, आलु खेतीलाई पनि असर गरेको छ । यो वर्ष धेरैजसो किसानको आलुखेती डढुवा रोगले सोत्तर भएको छ । शीतलहरले आलु नष्ट गरेको स्थानीय ठाकुरप्रसाद करियाप्रधानले बताउनुभयो ।

कैलालीमा यो वर्ष जनवरीमा सबैभन्दा चिसो भइरहेको हावापानी फिल्ड कार्यालय अत्तरियाले जनाएको छ । घाम नलागेपछि न्यूनतम तापक्रम घटेको सो कार्यालयका प्रमुख सिङ्गल चौधरीले बताउनुभयो । आइतबारको न्यूनतम तापक्रम नौ डिग्री सेल्सियस रहेको उहाँले बताउनुभयो ।

हवाई उडान प्रभावित
यसैबीच, बाक्लो हुस्सुका कारण धनगढी विमानस्थलमा काठमाडौं–धनगढी उडान प्रभावित भएको छ । हुस्सुले गर्दा भिजिबिलिटी कम भएपछि हवाई उडान हुन नसकेको हो । हुस्सुका कारण आइतबार हवाई उडान प्रभावित भएको नागरिक उड्डयन प्राधिकरण धनगढीका प्रमुख रामकृष्ण भट्टले बताउनुभयो । उहाँका अनुसार बिहानको एक एक उडान बुद्ध र सौर्यले स्थगित गरिसकेका छन् ।

‘श्री एयरलाइन्स भने दिउँसोसम्म पनि वेटिङमा छ’, प्रमुख भट्टले भन्नुभयो । दिउँसोसम्म एउटा पनि उडान हुन नसकेको उहाँले जानकारी दिनुभयो । धनगढी विमानस्थलमा बुद्ध, श्री एयरलाइन्सको तीन तीन र सौर्यको एक गरी दैनिक सात उडान हुनेगरेको छ । यसैगरी, धनगढीबाट सुदूरपश्चिमको पहाडी जिल्लामा दैनिक चार पाँचवटा उडान हुनेगरेको छ । भिजिबिलिटी कम भएका कारण पहाडतिर पनि उडान हुन नसकेको प्रमुख भट्टले जनाउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?