logo
२०८१ मंसिर १३ बिहीवार



डांगर गिध्द लोपोन्मुख अवस्थामा

खुला |


डांगर गिध्द लोपोन्मुख अवस्थामा


गोकर्ण पौडेल
तुलसीपुर, माघ १७ गते । दुई दिनको अवधिमा करेन्ट लागेर दुई वटा गिध्द मरेका छन् । तुलसीपुर–१७ मङ्गरीमा माघ १४ गते र वडा नम्बर १९ सक्रममा माघ १६ गते गरी दुई गिध्द मरेको हो । मरेको गिध्दमध्ये एउटा डांगर प्रजाति र अर्को हिमाली प्रजातिको छ ।

नेपालमा पाइने नौ प्रजातिका गिद्धमध्ये लोपोन्मुख अवस्थामा पुगेका चार प्रजातिको एक प्रजाति डांगर हो । लामो समयदेदि गिध्द संरक्षण गर्दै आएको पर्यावरणीय दिगो विकास एवं अनुसन्धान केन्द्रका अध्यक्ष डिल्लीबहादुर रावतले नेपाल विद्युत प्राधिकरणले तार विस्तारका क्रममा एउटै लाइनमा तार विस्तार गर्दा पंक्षी पखेटामा करेन्ट लागेर मर्ने गरेको बताउनुभयो । मरेका दुवै गिध्दलाई तुलसीपुर–१९ स्यालापानीमा रहेको जटायु रेष्टुरेन्टमा राखिएको छ । मरेका गिध्द बारेमा डिभिजन वन कार्यालयलाई जानकारी गराइएको अध्यक्ष रावतले बताउनुभयो ।

भित्री मधेशमा पाइने यो डांगर गिध्द नेपालबाट ९६ प्रतिशत लोप भइसकेका छन् । नेपालमा पाइने नौ प्रजातिमध्ये सानो खैरो, खैरो, लामो ठुडे र डंगर गिध्द लोपोन्मुख अवस्थामा पुगेका गिध्द प्रजाति हुन् । नेपाल सरकारले पछिल्लो समयमा गिध्द संरक्षणका लागि पञ्च वर्षीय कार्ययोजना तयार पारेको छ । नेपाल गिध्द संरक्षण समितिका केन्द्रीय अध्यक्ष डिल्लीबहादुर रावतले नेपाल सरकार, डिभिजन वन कार्यालयले पंक्षी संरक्षणका विद्युत प्राधिकरणसँग तत्काल समन्वय गरेर एउटै तहमा विस्तार गरिएका तारहरुलाई तलमाथि हुने विस्तार गर्नुपर्ने बताउनुभयो ।

गिध्द मात्रै नभएर हाल विद्युत प्राधिकरणले विस्तार गरेको लाइनबाट अन्य पंक्षीलाई समेत खतरा हुँदै आएको छ । जङ्गली जनावर मार्नका लागि विषादी प्रयोग गरिने र त्यही विषादी खाएर मरेका जनावरहरुको सिनो खाँदा गिध्दहरु मर्ने गरेका छन् । गत साउन महिनामा शान्तिनगर गाउँपालिकाको बाघमारे सामुदायिक वनमा त्यसरी सिनो खाएर ६० वटा गिध्द मरेका थिए ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?