विष्णुप्रसाद पोखरेल
दमक, माघ १७ गते । झापामा फेरि हात्ती आतङ्क सुरु भएको छ । भारतबाट आउने हात्तीको प्रमुख प्रवेश नाका मेचीनगरको बाहुण्डाँगीमा विद्युतीय तारबार लगाइएका कारण केही वर्ष हात्ती आतङ्क कम भएको थियो । तर, अहिले फेरि हात्ती भारतबाट नेपाल प्रवेश गर्न थालेसँगै मानवीय र भौतिक क्षति हुन थालेको बताइएको छ ।
सोमबार हात्तीको आक्रमणबाट मेचीनगरमा एक वृद्धको ज्यान गएको छ । मेचीनगर नगरपालिकाको–१३ चारआलिका ७१ वर्षीय खम्बासिंह कार्कीको हात्तीको आक्रमणबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय काकडभिट्टाका प्रमुख सुनिल दाहालले बताउनुभयो । तीन दिन अघि झापाको दमकमा पनि एक वृद्धको हात्तीको आक्रमणबाट मृत्यु भएको थियो । हात्तीलाई धपाउने क्रममा गम्भीर घाइते हुनुभएका कार्कीको उपचारको क्रममा बिर्तासिटी अस्पताल बिर्तामोडमा सोमबार बिहान ९ बजे निधन भएको दाहालले बताउनुभयो ।
फेरि हात्ती आतङ्कले त्रास
जिल्लामा जलथलको चारकोसे झाडि र दमकको हम्सदुम्से जङ्गलभित्र केही रैथाने हात्ती रहेको भए पनि झापामा क्षति पुर्याउने धेरैजसो हात्ती अन्नबाली पाक्ने समयमा भारतबाट आउने गरेको जनाइन्छ । आहाराको खोजीमा भारतबाट हात्तीहरु नेपाल आउने गरेका छन् । यो समय किसानले लगाएको धानबाली र मकैबाली खानका लागि हात्तीहरु आउने गरेका छन् ।
एकसाता यता बाहुण्डाँगी क्षेत्रमा आएका हात्तीहरुले स्थानीयको धान, मकै, आलु खाएर ठूलो क्षति पुर्याएको स्थानीयहरुको भनाइ छ । ‘वर्षभरि खान राखेको आलु क्षणभरमा नै आएर हात्तीले सखाप पारिदियो,’ मेचीनगर नगरपालिका–४ का स्थानीय चेतबहादुर श्रेष्ठले भन्नुभयो । आफूले राखेको १५ मन आलु हात्तीले खाएको उहाँको भनाइ छ ।
२०६६ बाट झापामा भारतबाट आउने हात्ती नियन्त्रणका लागि विद्युतीय तारबार लगाउन सुरु गरेको पाइन्छ । बाहुण्डाँगीको सिरान तिरिङदेखि दक्षिणी नकलबन्दासम्म १८ किलोमिटर लामो विद्युतीय तारबार लगाइएपछि हात्ती आउने क्रममा कमि रहेपनि अहिले फेरि हात्ती आउन थालेको स्थानीयहरु बताउँछन् ।
‘एकैपटक १ सय वटासम्म हात्तीहरु नेपाल प्रवेश गर्ने गरेको सुन्दा धेरैलाई अचम्म लाग्नसक्छ । तर यस्तै अवस्था छ,’ बाहुण्डाँगीका चरण निरौलाले भन्नुभयो ।
झापा दमक–३ का वडाध्यक्ष नवीन बरालले गाँउमा हात्ती नआएको दिन नहुने गरेको बताउनुभयो । स्थानीयले हात्ती नदेखेको दिन हुँदैन उहाँले भन्नुभयो । भौतिक क्षति धेरै गर्ने गरेको जानकारी दिनुहुँदै उहाँले यसै सातामात्र एकजना वृद्धको हात्तीले ज्यान लिएको बताउनुभयो । तीनदिन अघि स्थानीय गणेश अधिकारीको घटनास्थलमा नै ज्यान गएको उहाँले बताउनुभयो ।
डिभिजन वन कार्यालय झापाका साहयक वन अधिकृत ओमनाथ भट्टराईका अनुसार २०६७ सालदेखि वन कार्यालयमा राखिएको रेकर्ड अनुसार नेपाली ४५ जना र गैर नेपाली पाँच जना गरेर ५० जनाको मृत्यु भएको छ । २०६२ साल १३ वटा हात्ती मरेका छन् । सोमबार मेचीनगर र तीन दिन अघि दमकमा मृत्यु भएका दुई जनाको विवरण भने अहिले कार्यालयमा नआई सकेकाले त्यो यसमा समावेश नरहेको पनि भट्टराईले बताउनुभयो ।