logo
२०८१ बैशाख २३ आईतवार



आठ बर्षमा पनि पुल निर्माण सम्पन्न भएन

खुला |
प्रदेश |


आठ बर्षमा पनि पुल निर्माण सम्पन्न भएन


डिलबहादुर सिंह
डोटी माघ, १७ गते । तीन बर्षमा निर्माण सम्पन्न हुनुपर्ने डोटीको शिखर नगरपालिका – १० स्थित सेती नदिमा निर्माण भइरहेको आरसिसी पुलको काम आठ बर्ष भइसक्दा समेत २० प्रतिशत काम मात्र पुरा भएको छ । मूल्य अभिवृद्धि कर (भ्याट) सहित २६ करोड २० लाख रुपियाँ लागतमा निर्माण हुने भनिएको तीन सय २० मिटर लामो सो आरसिसी पुल निर्माणका लागि डिभिजन सडक कार्यालय कुलपाते, डोटीले पुष्प–राजेन्द्र जेभी निर्माण कम्पनीसँग सम्झौता गरेको थियो ।

डिभिजन सडक कार्यालयका कुलपाते डोटीका सूचना अधिकारी इन्जिनियर योगेन्द्रबहादुर अधिकारीकाअनुसार २०७४ साल असार २९ गते काम सम्पन्न गर्नेगरी २०७१ सालमा ठेक्का सम्झौता भएको हो । निर्माण कम्पनीले हालसम्म तीन करोड २१ लाख रुपियाँ भुक्तानी समेत लिएको बताइएको छ ।

२०४९ सालमा निर्माण कार्य सुरु भएको सातनाली मेल्लेक सडकलाई केआई सिंह राजमार्गसँग जोड्ने सो पुल निर्माण गर्ने सम्झौता भएको थियो । तीन वर्षे पहिलो ठेक्का सम्झौता अवधी सकिएर चार पटक म्याद थप भइसकेको छ । हालको सम्झौताअनुसार ठेक्काको अन्तिम म्याद २०७८ चैत्र मसान्तसम्म छ । तर कार्यप्रगति भने २० प्रतिशत मात्रै छ ।

सेती नदीमा पुल निर्माण सम्पन्न नहुँदा शिखर नगरपालिका –११ सडक सञ्जालमा जोडिन सकेको छैन । नदीमा पुल नभएकै कारण २०४९ सालदेखि निर्माण कार्य सुरु भएको सातनाली मेल्लेख सडक अलपत्र परेको छ । ‘सडक बन्ने र गाडी चढ्न पाइने आशमा उहिले सडकमा मजदुरी गर्ने धेरै स्थानीयको मृत्यु समेत भइसक्यो, शिखर नगरपालिका–११ का स्थानीय महाविर बि.कले भन्नुभयो, ‘हाम्रै पालामा पुल बन्ला र सडकमा गाडी चल्छ होला भन्ने सोचेका थियौं त्यो पनि होलाजस्तो छैन ।’

पुल निर्माणको काम सुरु भए सँगै सातनाली मेल्लेख सडक सञ्चालन आउनेमा आशावादी रहेका शिखर नगरपालिका ११ लगायत डोटीकै आदर्श गाउँपालिकाका स्थानीयमा निराशा छाएको छ । स्थानीय रणबहादुर बलायरले भन्नुभयो,– ‘पुल निर्माण भएसँगै सेती पारिका स्थानीयलाई राजमार्गमा आउजाउ गर्न सहज हुने ठूलो आशा थियो, पुल निर्माण हुने कहिले हो कहिले ?’ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?