गोपी ज्ञवाली
नवलपरासी माघ १९ गते । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाबाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
घरमा लुकाई राखेको अवस्थामा लागूऔषधसहित सन्तोष तुलाधर र सुरज रजाली मगरलाई नवलपरासीको बर्दघाट नगरपालिका–४ हरियालीनगरबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरीक्षक कृष्णप्रसाद घिमिरेले जानकारी दिनुभयो ।
प्रहरी निरीक्षक घिमिरेका अनुसार गोप्य सूचनाका आधारमा प्रहरीले तुलाधर एवं मगरको घरमा खानतलासी गर्दा लागूऔषधसहित ११ हजार १२५ रुपियाँ नगद बरामद गरिएको हो ।
तुलाधरको घरमा खानतलासी गर्दा सुत्ने खाटको मुनि भुइँमा खाल्डो खनेर लुकाई राखेको अवस्थामा विभिन्न प्रकारका लागूऔषधहरु फेला परेको उहाँले बताउनुभयो ।
प्रहरीले बरामद गरेको लागूऔषधहरुमा प्रोक्सीमेट स्पास ६ पोका, ९२७ वटा क्याप्सुल, ५० ग्राम गाँजा, कोडिवेल १०० मिलिलिटरको सिसी एक, कोडिन फास्फेट एवं क्लोरोफेनिरामिन नाइटाभेटलगायतका लागूऔषधहरु फेला परेको प्रहरी कार्यालय बर्दघाटले जनाएको छ ।