चित्र मिजार
सिन्धुपाल्चोक, माघ १९ गते । हेलम्बु गाउँपालिकाले सोनाम ल्होसारमा तीन दिन बिदा दिएको छ । सरकारले ल्होसार पर्वलाई उचित सम्बोधन गर्दे माघ १९ गते सार्वजनिक बिदा दिएको छ ।
गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले ह्योल्मो क्षेत्रको सांस्कृति र पहिचानलाई विशेष रुपमा मनाउन माघ १९ गतेबाट २१ गतेसम्म बिदा दिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार पालिकाभरका सबै सरकारी कार्यालय, बैंक, वित्तीय संस्था, सार्वजनिक निकायलाई तीन दिन बिदा दिएको छ । यस्तै बाह्रबिसे नगरपालिकाले संघीय सरकारले दिएको एकदिने ल्होसार बिदामाथि एक दिन थप गरेको छ । बाह्रबिसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाद्वारा जारी विज्ञप्तीमा माघ २० गतेसम्म सार्वजनिक बिदा दिएको उल्लेख छ ।
सांस्कृतिक पर्वलाई थप संरक्षण र प्रवर्धनार्थ गर्न सबै सरकारी कार्यालय, शिक्षण संस्था एवम सार्वजनिक निकायलाई बिदा दिइएको मेयर शेर्पाले बताउनुभएको छ । नौ गाउँपालिका र तीन नगरपालिका रहेको सिन्धुपाल्चोकमा अरु स्थानीय तहले संघीय सरकारले दिएको बिदालाई आत्मसात गरेको देखिन्छ ।