शिवशंङ्कर मिश्र
बारा, माघ १९ गते । दुई लाख ९६ हजार नेपाली नक्कली रुपियाँसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटको मौलापुर नगरपालिका –७ पिपरिया टोल बस्ने ३२ वर्षिय किशोरी साह रहेका सशस्त्र प्रहरी बल नेपाल छिन्नमस्ता गण बर्दिबासका बाहिनीपती गणेशबहादुर ठाडाले जानकारी दिनुभयो ।
सिम्रौनगढ नगरपालिका –२ नयकटोला हुँदै हरिहपुरतर्फ आउदै गरेको ना २५ प १९७८ नम्बरको मोटरसाईकललाई मंगलबार साँझ साढे ५ बजे बिओपी गोलागञ्ज, बाहिनी र ईलाका प्रहरी कार्यालय सिम्रौनगढको संयुक्त प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा किशोरीले बोकेको झोला भित्रबाट तीन लाख बढी नेपाली रुपियाँ बरामद गरेको थियो ।
खुल्ला सीमा नाकामा यसरी लाखौं रुपियाँ लिएर आएका किशोरी माथि अनुसन्धान गर्दा १२ हजार १४५ रुपियाँ सक्कली तथा २९६ वटा नेपाली नक्कली हजार रुपियाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक एवम् सूचना अधिकारी राजेश थापाले बताउनुभयो ।
नक्कली रुपियाँ कहाँबाट आउनेगरेको र कसको यसमा संलग्नता रहेकोबारे किशोरीमाथि थप अनुसन्धान सुरु गरिएको तथा खोटाचलन मुद्दा जारीगरी बुधबार बिदा भएकाले बिहिबार अदालतबाट म्याद लिई आवश्यक प्रक्रिया अघि बढाउने उहाँले जानकारी दिनुभयो ।
आउने स्थानीय चुनावमा अबैध रुपमा खर्च गर्न यसरी नक्कली रुपियाँ सीमानाका आसपास पहिलादेखि चलनचल्तीमा रहेकाले यसलाई निरुत्साहित गर्न सादा तथा पोशाकमा प्रहरी परिचालन गरिएको मधेश प्रदेश सशस्त्र प्रहरीका बाहिनीपती गणेशबहादुर ठाडाले जानकारी दिनुभयो ।
नक्कली रुपियाँ कारोबारमा ठूला ओहादा भएको ब्यक्तिसमेत सामेल रहेको तथा यसरी खुल्ला रुपियाँ लिएर ओहोरदोहोर गर्ने ब्यक्ति सधारण र कमिशनको कारोबारी रहेको अनुसन्धानमा खुल्दै गरेको उहाँले बताउनुभयो ।