logo
२०८१ बैशाख २६ बुधवार



कैलाली प्रशासनद्वारा विपन्न, असहायलाई न्यानो कपडा वितरण

खुला |
प्रदेश |


कैलाली प्रशासनद्वारा विपन्न, असहायलाई न्यानो कपडा वितरण


अविनाश चौधरी
धनगढी, माघ १९ गते । शीतलहरका कारण जनजीवन प्रभावित भएपछि जिल्ला प्रशासन कार्यालय कैलालीले विपन्न, असहाय र फरक क्षमताका व्यक्तिलाई न्यानो कम्बल वितरण गरेको छ । चिसोबाट बच्न सहयोग पुगोस भनेर प्रशासनले आवश्यकता भएका व्यक्तिहरुलाई न्यानो कपडा बाँडेको बताएको छ ।

प्रशासनले बुधबार धनगढीस्थित आमाको माया छात्रवासका असहाय विद्यार्थीलाई ६० थान, गोदावरी नगरपालिकास्थित सुदूरपश्चिम समावेशी विद्यालयमा अध्ययनरत फरक क्षमताका विद्यार्थीलाई १०० थान कम्बल वितरण गरेको छ । यस्तै, गोदावरी नगरपालिकामा रहेका आश्रमका बटुकलाई ४८ थान कम्बल वितरण गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो ।

नेपाल सरकारले जिल्ला विपद् व्यवस्थापन समितिमा रुपियाँ पठाएपछि विपन्नका लागि कम्बल खरिद गरेको जनाएको छ । जिल्लामा अति आवश्यक रहेका, नभइ नहुने अवस्थाका पाँच सय जनालाई कम्बल वितरणको लक्ष्य रहेको प्रमुख जिल्ला अधिकारी किरण थापाले बताउनुभयो ।

‘सुरुमा मुक्त कमैया र बादी समुदायका व्यक्तिलाई कम्बल वितरण गर्ने कि भन्ने थियो’, उहाँले भन्नुभयो । ‘तर, आएको बजेटले सबैका लागि कम्बल नपुग्ने देखिएपछि हामीले पाँच सय कम्बल किनेर नभइ नहुने विपन्न, असहाय् फरक क्षमताका विद्यार्थीलाई कम्बल वितरण गरिरहेका छौं ।’
कैलालीमा अझै शीतलहर जारी छ । शीतलहर र हुस्सुका कारण चिसो बढेपछि जनजीवन प्रभावित भएको छ । चिसोले गर्दा विपन्न, असहाय, वृद्धवृद्धा, बालबालिका समस्यामा छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?