logo
२०८१ बैशाख २६ बुधवार



देउडा गायक प्रेमराज ओझेलमा

खुला |
प्रदेश |
समाज |


देउडा गायक प्रेमराज ओझेलमा


गोकर्ण दयाल
बैतडी, माघ १९ गते । सुदूरपश्चिमको चर्चित एवं ऐतिहासिक देउडा गीतका सर्जक तथा गायक प्रेमराज खत्री (लेखक) ओझेलमा पर्नुभएको छ । २०३९ सालमा रेडियो नेपालबाट स्वर परीक्षण उत्तीर्ण गरेर ‘हो... जिल्ला बैतडी’ बोलको उहाँको गीत अहिले पनि चर्चामा छ । तर गायक प्रेमराज भने ओझेलमा पर्नुभएको छ ।

बैतडीको प्रसिद्ध धार्मिक जगन्नाथ र त्रिपुरासुन्दरी मन्दिर परिशरमा छायाङ्कन गरिएको गीतले बैतडी जिल्लाको परिचय र धार्मिक देवालयको ईतिहास समेटेको छ । २०३६ सालमा नेपाल प्रहरीमा जागिरे प्रेमराज निवर्तमान प्रहरी नायव उपरीक्षक हुनुहुन्छ । बन्दुक बोक्ने पेशामा रहनु भएका प्रेमराजलाई ‘डीएसपी’ भन्दा पनि देउडा गायकका रुपमा धेरैले चिन्नेगरेका छन् ।

बैतडीको दशरथचन्द नगरपालिका– ५, तल्ली आईतमा २०१५ सालमा जन्मनुभएका खत्री (लेखक) तीन दशकसम्म नेपाल प्रहरीमा सेवा गरेर आठ वर्षअघि सेवानिवृत्त हुनुभएको थियो । हाल उहाँ कञ्चनपुरको भीमदत्त नगरपालिका– ३, तिलकपुरमा बस्दैआउनुभएको छ ।

गीतमा सिलङ्गोको बयान
श्रीकट्या सिलङ्गी हावा, हिट्टाकन गोठालापानी
उहीँ खेलौला देउडा, कुम जोडी भाका हाली..

प्रेमराजका देउडा गीतमा ऐतिहासिक ठाउँको चिनारी र लोप हुनलागेको वनस्पति सिलङ्गोको महिमा सुन्न पाईन्छ । कुराकानीकै क्रममा उहाँले बैतडी सदरमुकाम गोठालापानीसँगै जोडिएको विद्युत कार्यालय रहेको स्थानको पुरानो नाम श्रीकट्यामा रहेको बताउनुभयो ।

“श्रीकट्यामा पुरानो चौतारी र सिलङ्गाको रुख थियो । चौतारोमा बसेर त्रिपुरासुन्दरी मन्दिरतर्फ हात जोडेर फूलपाती चढाइन्थ्यो,” प्रेमराजले भन्नुभयो, “आजभोलीको नयाँ पुस्ताले श्रीकट्या नाम नै भुलिसकेका छन् । चौतारी र सिलङ्गाको रुख लोप भैसकेको छ । श्रीकट्याको सिलङ्गाको हावा अब गीतमा मात्र सीमित रहेको छ ।”

अर्थशास्त्रमा स्नातकसम्मको अध्ययन गर्नुभएका खत्री विद्यार्थी जीवनदेखि नै विभिन्न सांस्कृतिक कार्यक्रममा सहभागी हुनुहुन्थ्यो । दर्जनौ गीत लेखेर चर्चामा आएका प्रेमराजले अफ्नै लगानीमा चारवटा एल्बम बजारमा ल्याएको बताउनुभयो । गीत संगीत बेच्ने उद्देश्यलेभन्दा पनि विशुद्ध रुपमा कला संस्कृतिको संरक्षण र सेवा गर्न संगीतमा लागेको उहाँले बताउनुभयो । दर्जनौ गीत अहिले पनि डायरीमा रहेको उहाँले सुनाउनुभयो ।

प्रहरी रत्नले सम्मानित
साढे तीन दशक नेपाल प्रहरीमा काम गरेर राष्ट्रको सेवा गर्ने क्रममा उहाँले सुदूरपश्चिमबाट पहिलो पटक नेपाल प्रहरीका रुपमा प्रहरी रत्न पाएको बताउनुभयो । राष्ट्रको सेवासँगै गीत संगीत र कला संस्कृतिमा गहिरो रुचि राख्ने प्रेमराजले आफ्ना पिता राजमान खत्री (लेखक) को प्ररणाले ईमान्दार बन्न सिकाएको बताउनुभयो ।

“पिताले मलाई भारी बोकेर विद्यालय पढाउनु भएको हो । एसएलसीसम्म बैतडी सदरमुकामको वीरेन्द्र हाईस्कुलमा पढें । घरको आर्थिक अवस्था कमजोर थियो” प्रेमराजले भन्नुभयो, “पछि मैले नेपाल प्रहरीमा नोकरी गर्दै प्रवीणता प्रमाणपत्र तह र स्नातक तह उत्तीर्ण गरें । संगीत साधना पनि छाडिँन ।”

ओ दादा मुईलै झानौं भर्ति हुन
तम त आया पेन्सिनी
ओ बौजु तमकि लेखा
खोजी झानौं देउरानी
सेवा निवृत्त भएपछि पनि गीत लेख्न नछाडेको उहाँले बताउनुभयो । सुदूरपश्चिमको कला संस्कृति झल्किने थुप्रै गीतका रचना थन्किएको बताउँदै प्रेमराजले कुनै गायक र सर्जकले गाउन चाहे आफ्ना रचना दिन सक्ने बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?