logo
२०८१ मंसिर १३ बिहीवार



सिमसार दोहनले सङ्कटमा जैविक विविधता

खुला |
प्रदेश |


सिमसार दोहनले सङ्कटमा जैविक विविधता


जानु पाण्डे
कपिलवस्तु, माघ १९ गते । वातावरण सन्तुलन र जैविक विविधताको सुरक्षामा महत्वपुर्ण भूमिकामा रहेको सिमसार क्षेत्र मानविय गतिविधिका कारण सङ्कटमा पर्दैगएको छ । नेपालको करिब ५ प्रतिशत भूभाग ओगटेको सिमसार क्षेत्रमा दोहन, संरक्षणको अभाव तथा मानवीय अतिक्रमणका कारण संकटमा परेको हो ।

विश्व सिमसार क्षेत्रमा सूचिकृत कपिलवस्तुको जगदीशपुर तालमा मानवीय गतिविधि बढ्दै गएपछि त्यसको असर देखिन सुरु भएको छ । ताल परिसरमा बुधवार आयोजित २६ औँ विश्व सिमसार तथा ९ औँ चरा दिवसमा वक्ताहरुले सिमसार संरक्षणमा सरकार र समुदायले चासो दिनुपर्नेमा जोड दिएका छन् ।

सिमसार अतिक्रमणका कारण चराको स्वर्ग मानिँदैआएको जगदीशपुर तालमा चराको संख्या घट्नुले सिमसार क्षेत्र संकटमा पर्न लागेको बताइएको छ । लुम्बिनी प्रदेशमा भौतिक पूर्वाधार विकासमन्त्री सहसराम यादवले सिमसार क्षेत्रको संरक्षणका लागि लुम्बिनी प्रदेश सरकारले ध्यान दिने जनाउँदै योजना तयार गर्न आग्रह गर्नुभयो ।

सिमसार क्षेत्रमा फोहर फाल्ने कारणले समस्या परेको डिभिजन वन कार्यालय कपिलवस्तुका प्रमुख विजयराज सुवेदीले बताउनुभयो । पानी निकालेर सुकाएर खेतीपाती गर्ने प्रचलन रहेको छ । कपिलवस्तुमा सिम मासेर धान रोपिन सुरु भएको छ । सिमसारमा फोहर फाल्दा नचाहिने बस्तु जम्मा हुँदा जीवजन्तु लाई असर गर्ने र सिमसार पनि मासिने समस्या थप भएको सुवेदीले बताउनुभयो ।

यता सिमसार क्षेत्रमा मानविय गतिविधी बढ्दै जाँदा त्यसको प्रत्यक्ष असर देखिन सुरु भएको छ । नेपाल पन्छी संरक्षण संघका अधिकृत भूपाल नेपालीले जगदीशपुर तालमा मानवीय क्रियाकलाप हाबी हुँदा चराको संख्या समेत घट्दैगएको बताउनुभयो । संघले गरेको चरा गणनाअनुसार जगदिशपुर तालमा चराको संख्या वर्षेनी घट्दै गएको छ ।

जगदिशपुर तालमा सन् २०१९ मा चौध हजार ९८०, सन २०२० मा २० हजार ८००, सन् २०२१ मा बाह्र हजार ६३ चरा गणना भएका थिए । यस वर्ष १३ हजारको हाराहारीमा चरा गणना भएको नेपालीले बताउनुभयो । मानिसको चहलपहल, चोरी सिकारी, प्रजनन कार्यमा बाधा पु¥याउने, बास स्थानमा समस्याले गर्दा चराको संख्या घट्दैगएको छ ।

सिमसार क्षेत्रमा किनारहरु स्थानीयले मिच्दैगएको कारणले समेत सिमसार साँघुरो बन्दैगएको छ । कृषि कार्यमा रासायनिक मल र विषादीको प्रयोग बढ्दै जाँदा समेत सिमसार क्षेत्रको जैविक विविधतामा समस्या भएको बायोलोजीस्ट दिलीप चन्दले बताउनुभयो ।

सिमसारलाई जैविक, सामाजिक पर्यावरणीय, पर्यटकीय, आर्थिक दृष्टीकोणले महत्वपुर्ण मानिए पनि समुदाय र सरकारबीचको असमझदारीका कारण चपेटामा पर्दैगएको छ । नेपाल सरकारले सिमसार संरक्षणका लागि सिमसार नीति २०६९ जारी गर्दै संरक्षण र व्यवस्थापन गर्ने नीति लिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?