logo
२०८१ बैशाख २३ आईतवार



सडक बनेपछि उजाड बन्याे दाेलखाकाे गुमुखोला बजार

खुला |
प्रदेश |


सडक बनेपछि उजाड बन्याे दाेलखाकाे गुमुखोला बजार


बाबुराम शर्मा
चरिकोट, माघ २० गते । कुनै दिन अब्बल व्यापार, आवतजावतले भीभाड हुने दोलखाको उत्तरी गुमुखोला बजार अहिले सुनसान र बैरागलाग्दो बनेको छ । २०६० सालमा माथिल्लो भेगबाट सडक बनेपछि विस्तारै बजारक्षेत्रमा चहलपहल हराउँदै गयो । भूकम्पपछि गुमुखोला बजारै खण्डहरमा परिणत भयो । स्थानीय बसाइँ सरेपछि बजार सुनसान भएको ७० वर्षीया व्यापारी रामकुमारी श्रेष्ठले बताउनुभयो ।

बेग्लै बनेको सडकले दोलखाको इतिहास बोकेको यो गुमुखोला बजारको अस्तित्व मात्रै होइन, खण्डहरमा परिणत भयो । भूकम्पले पूरै बस्ती ध्वस्त बनाएपछि सबैले यो थलो छोडेको स्थानीयको भनाइ छ । “आँखै अगाडि देखेको गुमुखोला सहरको रौनक अहिले पनि बिर्सेकी छैँन” उहाँले भन्नुभयो, “तत्कालीन समयमा दोलखाको उत्तरी २२ गाविसको केन्द्र गुमुखोला बजार यतिखेर खण्डहर भएको छ । चहलपहल हुँदा ४० वर्षअघि खोलेको पसल सबैले गुमुखोला छोड्दासमेत एक्लो पसल सञ्चालन गरेर श्रीमानसँग बसेकी छु ।”

गुमुखोला बजारले बनाएका दोलखका धेरै व्यवसायीले आफ्नो थातथलो नै बिर्सिएको उहाँको भनाइ छ । सबैले छाडेर गएपनि एक्ली व्यवसायी रामकुमारी र उहाँका श्रीमान मात्रै पुराना साथी फर्कन्छन् कि भनेर टोलाएर बस्नुभएको छ । उहाँको पसलमा त्यतिबेलाका दैनिक आउने एक जना ग्राहक मकरबहादुर राउत विगत ३० वर्षदेखि चिया खान आइरहनुभएको छ । उहाँको निरन्तरता अहिले पनि रहेको श्रेष्ठले बताउनुभयो ।

राउत पनि गुमुखोला बजारको त्यो बेलाको चहलपहल सम्झेर भन्नुभयो, “एक कप चिया पिउन घण्टौँसम्म कुर्नुपथ्र्यो । चौतारो खाली हुँदैनथ्यो । जाने आउनेको लर्को लागिरहन्थ्यो । पसलमा किन्नेको भी्ड लाग्थ्यो । त्यो त स्मरण मात्र रह्यो अब ।” डेढ सयभन्दा बढी पसल र घरहरु पहिले रहे पनि अहिले एउटा मात्र पसल छ ।” कृषि, नेपाल बैंक, महिला विकास, पशु सेवालगायतका आधा दर्जनभन्दा बढी सरकारी कार्यालयहरु रहेको सो बजारमा अहिले रामकुमारीको एउटा मात्र पसल रहेको उहाँले बताउनुभयो ।

रोल्वालिङ उपत्यकासहित च्छोरोल्पा लगायत उत्तरी्क्षेत्रको सदरमुकाम चरीकोट जाने पैदल मार्गमा पर्थ्याे गुमुखोला बजार । महिनाको १० गते र २५ गतेको हाट यो बजारको अर्को विशेषता थियो । अन्यत्र कहीँ पनि होटल तथा पसल नहुँदा यी दुई दिन किनबेच गर्नेको घुइँचो लाग्नेगर्थ्याे उहाँले सम्झनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?