राजन रावत
हुम्ला, माघ २० गते । यस वर्ष हुम्लामा दशौं पटक हिमपात भएको छ । हिमपातले चिसो बढेसँगै यहाँको जनजीवन कष्टकर बनेको छ । बुधवार रातीबाट केही ठाउँमा शुरुभएको हिमपात बिहीबार दिउँसोबाट भने बाक्लो हिमपात भएको छ । निमित्त प्रमुख जिल्ला अधिकारी दशरथ राईले बाक्लो हिमपात सुरु भएको बताउनुभयो । उहाँले आधा फिट हिउ जमिनमा जमीसकेको र हिउँ पर्नेक्रम जारी रहेको बताउनुभयो । यो हिमपात यस वर्षको दशौं पटक परेको हिमपात हो उहाँले भन्नुभयो ।
हिमपात भइरहेका कारण चिसो पनि दिउँसै माईनस नौ डिग्री सेल्सिएसमा झरेको थियो । चिसो अत्यधिक बढेको स्थानीयको भनाई छ । चिसो बढेको कारण मानिसहरु घरबाहिर कम निस्कने गरेको पाइएको छ । चिसोले अधिकांश व्यवसाय बन्द रहेका छन् । खुलेका स्थानमा पनि व्यवसायीहरु आगो तापेर बसेका छन् ।
ब्यापार ब्यबसाय नभएपछि सेवाग्राहीको उपस्थिती निक्कै न्यून देखिएका छ । अन्यबेला हिमपात हुँदा हिउँ खेल्ने मानिस देखिनेगरेको भएपनि यस पटक कोही पनि चिसोको कारण हिउँ खेलेको नदेखिएको स्थानीयको भनाई छ ।
खार्पुनाथ गाउँपालिका –४ छिप्राका स्थानीय बबरजंग हमालले यसपाली कर्णाली नदी किसानसम्म हिमपात भइरहेको बताउनुभयो । हिमपात भइरहेका कारण पशुबस्तु पनि गोठमै थुनेर राखिएका छन् । एक गाउँबाट अर्को गाउँमा मानिसहरु आउजाउ बन्द भएको छ । हिमपातले चिसो बढेपछि हिल्दुम साना जलबिधुत आयोजनाले पानी आपुतर््ी नभएको भन्दै दिनभर लोडसेडिङ गरेको छ ।
खराब मौसमको कारण हवाई सेवा समेत अबरुद्ध भएको छ । उत्तरी नाम्खा गाउँपालिकाका अधिकांश भागमा बाक्लो हिमपात भएको छ । लिमी र हिल्साक्षेत्र सञ्चार सम्पर्कबिहीन भएका छन् । सो गाउँपालिकाका चाला, यारी, न्यालु, नारा, लेकधिंगा क्षेत्रमा बाक्लो हिउँ परिरहेको बताइएको छ । यस पटक हुम्लामा गत मङ्सीर महिनादेखि हिमपात भइरहेको छ ।