प्रेम अधिकारी
पशुपतिनगर (इलाम), माघ २० गते । इलामको सूर्योदय नगरपालिकाको कन्याममा चिया बिकास निगमको जमिन अतिक्रमण गरेर खनिएकोको सडक बन्द गरिएको छ । सरकारी चिया बगान अतिक्रमणको बिरोध गर्दैआएका युवाले बगान ब्यवस्थापन पक्षको समन्वयमा निजी जमिनमा जान खनिएको सडक बन्द गरेको हो ।
कन्याम चिया बगानका ब्यवस्थापक सचिन सुब्बाको नेतृत्वमा सूर्योदयका करिब ४० युवाले जेसीबी लगाएर माटो थुपारेर सडक बन्द गरेका हुन् । सूर्योदय नगरपालिका ७ को कन्याममा चिया बिकास निगमको केहि जमिन अतिक्रमण गरेर सडक निर्माण गरिएको भन्दै स्थानीय युवाले माघ ११ गते बिरोध कार्यक्रम गरेका थिए ।
सो सडक रोक्न माग गर्दै सूर्योदय नगरपालिकाका नगरप्रमुख रणबहादुर राईलाई ज्ञापनपत्र समेत बुझाएका थिए । नगरप्रमुख राईले उक्त बिषयमा आफुले बुझ्ने बताए पनि वास्ता नगरेको भन्दै युवाले सडक पुरेर बन्द गरेको फिक्कलका युवा युवराज बस्नेतले जानकारी दिनुभयो ।
कन्याम चिया बगानका ब्यवस्थापक सचिन सुब्बाले आफुहरुलाई कुनै जानकारीबिनै सडक निर्माण गरिएकाले बगानमा हुने अतिक्रमण रोक्न सडक पुरिएको जानकारी दिनुभयो । कन्याममा बिनिता नेपाल, दिपक नेपाल, प्रकाश नेपाल र जिवन नेपालको नाममा रहेको जमिन हुँदै गुप्तीगाउँ जाने सडक निर्माण गरिएको जग्गाधनिमध्येका जिवन नेपालले जानकारी दिनुभयो ।
उहाँले बगान ब्यवस्थापन पक्षसँग समन्वय गरेरै सडक निर्माण गरिएको जानकारी दिनुभयो । सो क्षेत्रमा नेपाल परिवारको नाममा २०२८ सालमा दर्ता कायम रहेको १ सय ३२ रोपनी जग्गा रहेको छ । उक्त जमिनमा सडक लैजाँदा केही जमिन चिया बगानको भएर सडक खनिएको छ ।
पर्यटकीय क्षेत्रको चिया बगान मासेर सडक निर्माण गरी सम्पदाको नष्ट गर्न नपाईने भन्दै युवाहरुले बिरोध जनाउँदै आएका छन् । स्थानीय युवा सरण फागोकाअनुसार जसले जता सडक खन्छ उतै छोडिदिने हो भने कन्यामको अस्तित्व नै सकिने उहाँले बताउनुभयो ।
वडा नम्बर ७ का वडाध्यक्ष लेखनाथ खडकाले उक्त सडक खन्न वडासँग कुनै समन्वय नभएको जानकारी दिनुभयो । उहाँले सो क्षेत्रमा बर्षौ पहिले सानो सडक रहेपनि सडक बिस्तार गर्दा समन्वय नहुँदा समस्या भएको बताउनुभयो । नेपाल परिवारको नाममा रहेको सो जमिनमा होटल निर्माणको काम भइरहेको छ ।
यसअघि समेत कन्याम क्षेत्रमा केही संरचना बगानको जमिनमा निर्माण गरिएको भएपनि कतैबाट बिरोध भएको थिएन । कन्याममा बगानको जमिन मिचेर कुहीरो रेष्टुरेन्ट, शौचालय निर्माण गरिएको छ । स्थानीयले सबै बगानको जमिन मिचीएका संरचना हटाउनु पर्ने माग गर्दैआएका छन ।
कन्याममा मात्र चिया बगानको करिव २० हेक्टर जमिन रहेको छ । पछिल्लो समय चौतर्फी अतिक्रमण बढेपछि चियाको उत्पादनमा समेत कमी आउन थालेको बगान ब्यवस्थापन पक्षले जनाएको छ ।