logo
२०८१ बैशाख २६ बुधवार



सुक्खा पहिरो खस्दा पारतोला बस्ती जोखिममा

खुला |
प्रदेश |


सुक्खा पहिरो खस्दा पारतोला बस्ती जोखिममा


शेरबहादुर सार्की
बाजुरा, माघ २० गते । बाजुराको खप्तड छेडेदह गाउँपालिकाको ५ को पारतोला बस्ती सुक्खा पहिरो खसेपछि उच्च जोखिममा रहेको छ । माघको पहिलो सातादेखि बस्ती माथिबाट लगातार सुक्खा पहिरो खसेपछि सो बस्ती जोखिममा परेको हो ।

गत साउनको २५ गते बाजुरामा परेको अविरल वर्षाकाकारण गाउँको बस्तीमाथिबाट पहिरो खसेपछि त्यहाँका स्थानीयहरुले घर छाडेर लेकमा उक्लेको स्थानीयको भनाई छ । हिउँदमा पहिरो नलाग्ला भन्ने सोचमा गाउँ फर्केका सो बस्तीका स्थानीयहरु सुक्खा पहिरो खसेपछि वर्खाझै घर छाडेर सुरक्षित स्थानमा जान बाध्य भएको बताएका छन् ।

सधै वर्खामा त्रसित रहने सो बस्तीका स्थानीयहरु अहिले पनि सुक्खा पहिरोले फेरि त्रसित भएका छन् । “बर्खामा लेकमा पाल हालेर बसियो, यतीबेला लेकमा हिउँ भएकाले माथि उक्लेर बस्न पनि समस्या छ”, छेडेदह गाउँपालिका ५ का स्थानीय तुली रावतले बताउनुभयो ।

उहाँले भन्नुभयो, “कोरोना कहरले गाउँमा आएकालाई फेरि यतिबेला बस्तीमा गएको सुक्खा पहिरोले त्रिपालको बास बस्न बाध्य बनाएको छ ।” खप्तड छेडेदहको ५ को पारतोला, डोगडी लगायतका दर्जनौ बस्ती वर्खामा बाढीपहिरोले जोखिममा पर्ने गर्छन् ।

गत साउनदेखि भदौसम्म लगातार पर्ने झरिका कारण सुरु भएको त्यो पहिरो माघको महिना पनि नरोकिएपछि अहिले बस्तीका झण्डै पचास भन्दाबढी घरपरिवार जोखिममा रहेको खप्तड छेडेदह गाउँपालिका ५ का वडा अध्यक्ष हर्कबहादुर रावतले बताउनुभयो । केही वर्ष पहिले त्यो ठाउँमा पहिरो रोक्न घाँस तथा ग्याबीनको प्रयोग गरिए पनि पहिरो रोकिएको छैन उहाँले भन्नुभयो ।

तट्बन्धन गरेर पनि पहिरो नरोकिएपछि अहिले त्यो बस्तीलाई अन्य ठाउँमा स्थानान्तरण गर्नु बाहेक अन्य बिकल्प नरहेको स्थानीयको बुझाई छ । गाउँमाथिबाट जमिन भाँसिएर आउने खतरा देखिएकाले बस्ती स्थानान्तरण गर्नुपर्ने अध्यक्ष रावतले बताउनुभयो ।

बस्तीसँगै डोगडी स्वास्थ्य चौकी, विद्यालय पनि सुक्खा पहिरोको उच्च जोखिममा रहेको छ । कोरोना कहरमा उपचारका लागि स्वास्थ्य चौकीमा आउने बीरामीहरु पनि पहिरोले त्रसित बन्नेगरेको स्थानीयको भनाई छ । बस्तीलाई अन्य सुरक्षित ठाउँमा स्थानान्तरणका लागि गृह मन्त्रालयलाई जानकारी गराइसकेको जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?