logo
२०८१ बैशाख २६ बुधवार



राजपुर ट्रायल सेन्टर सञ्चालनमा आएन

खुला |
प्रदेश |


राजपुर ट्रायल सेन्टर सञ्चालनमा आएन


डिलबहादुर सिंह
राजपुर (डोटी), माघ २० गते । २०७६ साल जेठ मसान्तभित्र भौतिक संरचना निर्माण गरी असार महिनाबाट सवारीचालक अनुमतिपत्रका लागि ट्रायल लिने लक्ष्यकासाथ डोटीको दिपायल सिलगढी नगरपालिका –४ राजपुरमा स्थापना गरिएको ट्रायल सेन्टर हालसम्म पनि सञ्चालनमा आउन सकेको छैन ।

गत असारमा ट्रायल सेन्टरको निर्माण कार्य सम्पन्न भएको हो । ढिलोगरी निर्माण सम्पन्न भएको ट्रायल सेन्टर निर्माण कार्य सम्पन्न भएको ७ महिना भइसक्दा समेत भौतिक पूर्वाधार विकास मन्त्रालयले निरिक्षण नगर्दा सञ्चालनमा आउन नसकेको हो ।

यातायात व्यवस्था कार्यालय राजपुर, डोटीका निमित्त कार्यालय प्रमुख भरतबहादुर नेपालीकाअनुसार ट्रायल सेन्टर निर्माण भइसकेकोले निरीक्षण गरिदिन गत साउन ५ गते भौतिक पूर्वाधार विकास मन्त्रालयलाई पत्र पठाइएको थियो । पत्र पठाइएको ६ महिना भइसक्दा समेत मन्त्रालयले अनुगमन गरेको छैन ।

निमित्त कार्यालय प्रमुख नेपालीले भन्नुभयो, ‘काम सम्पन्न भयो, अव निरीक्षण गरिदिन आग्रह गर्दै पत्र पठाएको ६ महिना भयो । त्यसपछि पनि फोनमा आग्रह गरियो, तर अहिलेसम्म निरीक्षण भएको छैन ।’ ट्रायल अनुमति प्राप्त भएमा आफुहरु अहिले कार्यालयमा भएको जनशक्ति परिचालन गरेरै पनि सवारीचालक अनुमतिपत्र बितरणको प्रक्रिया सुरु गर्ने उहाँले बताउनुभयो ।
सुदूरपश्चिम प्रदेश सरकारका तत्कालीन भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहराले २०७५ साल चैत १७ गते डोटीको राजपुरमा ट्रायल स्पोटको शिलान्यास गर्नुभएको थियो । सवारीचालक अनुमतिपत्र प्राप्त गर्न कैलाली धाउनु पर्ने, लाईन बस्नुपर्ने, अनावश्यक झमेला खेप्नुपर्ने अवस्थाबाट मुक्ती पाईने आशामा स्थानीयहरु थिए ।

राजपुरमा ट्रायल सेन्टर सञ्चालन आएमा डोटीका साथै अछाम र बाजुराका स्थानीयलाई समेत सहज हुने स्थानीयको बुझाई छ । स्थानीय रामबहादुर ऐरले भन्नुभयो, ‘सवारी चालक अनुमतिपत्र लिन सहज हुन्छ भन्ने लागेको थियो, तर ट्रायल सेन्टर नै सञ्चालनमा नआएपछि समस्या भयो ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?