logo
२०८१ मंसिर १३ बिहीवार



आठ वर्षसम्म सञ्चालनमा आएन अटोभिलेज

खुला |
प्रदेश |


आठ वर्षसम्म सञ्चालनमा आएन अटोभिलेज


लक्ष्मण पौडेल
भैरहवा, माघ २० गते । भैरहवामा सिद्धार्थ अटोभिलेज सञ्चालनका लागि सम्झौता भएको आठ वर्ष बित्दा पनि सञ्चालनमा आएको छैन । सिद्धार्थनगर नगरपालिकाले नगरलाई सफा, सुन्दर र पर्यटकीय नगर बनाउने अवधारणा अन्तर्गत वडा नम्बर ९ गोनहियामा अटोभिलेज सञ्चालनका लागि २०७० सालमै श्रमिकहरुसँग सम्झौता गरेको थियो । तर अझैसम्म कार्यान्वयनमा आएको छैन ।

आठ वर्ष बितिसक्दा समेत अटोभिलेज सञ्चालनमा ल्याउन नगरपालिकाले ध्यान नदिएको सरोकारवालाहरुले बताएका छन् । करिब साढे तीनसय श्रमिकमध्ये अधिकांशले बैंकबाट ऋण लिएर गोनहियामा करिब १४ करोड रुपियाँमा एकै स्थानबाट ग्यारेज सञ्चालनका लागि १० बिघा जग्गा खरिद गरेका थिए ।

नेपाल अटोभिलेजका सचिव दिलबहादुर कुँवरले अटोभिलेजमा १५–१६ जना व्यवसायीहरु मात्र आएको बताउनुभयो । “अझैसम्म सम्झौता पूर्ण कार्यान्वयन नहुँदा धेरै व्यवसायीहरु आउन मानिरहेका छैनन्”–उहाँले भन्नुभयो । सिद्धार्थ अटो भिलेजका व्यवसायी राजेश धवलले आफूहरुलाई जग्गा खरिद गर्न लगाएर नगरपालिकाले अहिले अलपत्र पारेको बताउनुभयो ।

आफूले बैंकबाट क्रृण लिएर जग्गा खरीद गरी व्यवसाय सञ्चालन गरेको तर अहिले नगरपालिकाले अलपत्र पारेको उहाँले बताउनुभयो । विद्युत नभएको बहानामा सञ्चालनमा आउन नसकेको अटोभिलेज अहिले १०० केभीए क्षमताको ट्रान्सफर्मर जडान, सडक ग्राभेल, टेलिफोन एवं इन्टरनेट लगायतको सुविधा हुँदा समेत सञ्चालनमा आउन नसकेको स्थानीयको भनाई छ ।

नेपाल अटोमेकानिक्स ट्रेड युनियन सिद्धार्थनगरका अध्यक्ष गुमानसिंह थारुले नगरपालिकाले १३ वटै वडा कार्यालयमा अन्यत्र अटोभिलेज सञ्चालन गरिरहेका व्यवसायीलाई सञ्चालन गर्न नदिई भिलेजमै पठाउन पत्र पठाएको तर कार्यान्वयन नभएको बताउनुभयो । अटोभिलेजका लागि सबै संरचना तयार भएपनि व्यवसाय सञ्चालन नहुने डरले व्यवसायीहरु आउन नमानेको उहाँले बताउनुभयो ।
सिद्धार्थ अटोभिलेज सञ्चालनमा ल्याउन खोजेको नगरपालिकाले आफ्नै सम्झौता कार्यान्वयन नगरी उल्टै सम्झौता विपरीत ठूला व्यवसायीलाई लुम्बिनी रोडमा ‘मिनी’ अटो भिलेज सञ्चालन गर्न छुट दिएको समेत व्यवसायीहरुको आरोप छ ।

सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीराम मरासिनीले भने अटोभिलेजका लागि खरीद गरिएको जग्गा व्यक्तिगत भएको र भविष्यमा समस्या आउनसक्ने भएकाले सञ्चालनमा ल्याउन हतार नगरिएको बताउनुभयो । “केही पूर्वाधार अटोभिलेजका लागि तयार भएको छ, तर अटोभिलेजको क्षेत्र व्यक्तिगत भएकाले काम सम्पन्न गर्न हतार नगरिएको हो” उहाँले भन्नुभयो ।

सिद्धार्थनगर नगरपालिकाले जग्गाको कारण देखाए पनि नगरपालिका र अटोभिलेजका व्यवसायीहरुबीचको २०७० सालमा सम्झौता हुँदा जग्गा व्यवसायीहरुले खरीद गर्ने र सोमा अन्य पूर्वाधारहरु नगरपालिकाले निर्माण गर्ने उल्लेख छ । नगरभरी अहिले साढे तीनसय ग्यारेज अव्यवस्थित रुपमा सञ्चालनमा रहेको उहाँहरुको भनाई छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?