काठमाडौं, माघ २१ गते । बिहीबारदेखि बदली भएको मौसमसँगै परेको बाक्लो हिमपातका कारण जनजीवन कष्टकर बनेको छ । पाँचौ पटक देशैभरका हिमाली र उच्चपहाडी क्षेत्रमा परेको हिँउ एक हजार सात सय मिटरसम्म परेसँगै सोलुखुम्बुमा जनजीवन कष्टकर बनेको हो ।
सोलुखुम्बुको एक हजार सात सय मिटर क्षेत्रसम्म हिमपात भएको स्थानीयबासी कामिङिमा शेर्पाले जानकारी दिनुभयो । बाक्लो हिमपातले चिसो अत्याधिक बढेपछि मानिसहरु बाहिर निस्कन नसकेको र चौपायलाई समस्या भएको उहाँले बताउनुभयो । हिमपात अझै रोकिएको छैन ।
यता, सङ्खुवासभा, हुम्ला, जुम्ला, डडेल्धुराको तल्लो क्षेत्रसम्म हिमपात भएको छ । काठमाडौं उपत्यका वरिपरिका डाँडाहरुमा समेत बिहीबार हिमपात भएपछि चिसो बढेको छ ।
तल्लो क्षेत्रसम्म बाक्लो हिमपात भएपछि किसानहरु उत्साहित हुँदै खुसियाली मनाएको पाइएको छ । हिँउपरेपछि माटोमा उर्वराशक्ति वृद्धि हुने भएकाले खाद्यवाली राम्रो हुने सङ्खुवासभा टुटेदेउरालीका किसान छिरिङ लामाको बताउनुहुन्छ । आलु, मकै, उवा, गहुँ, जौ खेतिका लागि हिउँ परेपछि उत्पादनमा सहयोग पुग्ने उहाँको भनाइ छ । अघिल्लो वर्षहरुको तुलनामा यस वर्ष बढी हिमपात भएको उहाँले जानकारी दिनुभयो ।
बिहीबारदेखि पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेकाले देशभर सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानहरुमा मेघगर्जन र चटयाङसहित वर्षा भइरहेको छ ।