logo
२०८१ मंसिर ७ शुक्रवार



लमजुङको उच्च पहाडी क्षेत्रमा बाक्लो हिमपात

खुला |
प्रदेश |
पर्यटन |


लमजुङको उच्च पहाडी क्षेत्रमा बाक्लो हिमपात


बेलिना थापा
लमजुङ, माघ २१ गते । लमजुङको उच्च पहाडी क्षेत्रमा बाक्लो हिमपात भएको छ । बिहीबार रातिदेखि हिमपात भएको स्थानीयले बताएका छन् । स्मार्ट भिलेज घलेगाउँसहित ग्रामीण भेगमा यसवर्ष दोस्रो पटक हिमपात भएको हो ।

गएको माघ १२ गते हिमपात भएकोमा बिहीबार रातिदेखि पुनः हिमपात भएको छ । हिमपातले गाउँबस्ती नै ढाकेको छ । समुद्री सतहदेखि करिब २ हजार १ सय मिटर उचाइमा रहेको कव्होलासोंथर गाउँपालिका ३ घलेगाउँका गमबहादुर गुरुङका अनुसार बाक्लो हिमपात भएको छ । रातिदेखि निरन्तर हिमपात हुँदा गाउँ पूरै ढाकिएको छ ।

करिब १ फिट जति हिउँ परेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो– ‘घलेगाउँमा यो वर्ष हिमपात भएको यो दोस्रो पटक हो । पहिलेभन्दा अहिले बाक्लो परेको छ । गाउँ सेताम्मे भएको छ । चिसो बढेकाले बाहिर निस्कन गाह्रो भएको छ ।’

पर्यटन व्यवस्थापन समिति ग्रामीण पर्यटन घलेगाउँका सचिव उमलबहादुर विकका अनुसार हिमपात हुँदा जनजीवन प्रभावित भएको छ । चिसो बढेकाले नागरिकलाई बाहिर निस्कन  समस्या भएको छ । केही स्थानीय र गाउँमा आएका पर्यटक भने फोटो खिच्नका लागि गाउँमाथिको डाँडामा पुगेका छन् ।

यस्तै करिब २ हजार २०० मिटर उचाईमा रहेको मर्स्याङ्दी गाउँपालिकाको घनपोखरामा पनि बाक्लो हिमपात भएको छ । स्थानीय सुलबहादुर गुरुङका अनुसार घनपोखरामा निरन्तर हिमपात हुँदा जनजीवन कष्टकर बनेको छ । घरभित्रै आगो तापेर स्थानीयहरु बस्न बाध्य भएको उहाँले बताउनुभयो । केही युवायुवती भने हिउँ खेल्न भन्दै बाहिर निस्किएका छन् ।

साढे २ फिटसम्म हिउँ परेको उहाँले बताउनुभयो । मर्स्याङ्दी गाउँपालिका ३ को पर्यटकीय गाउँ सिउरुङमा पनि हिमपात भएको छ । हिमपातले गाउँ सेताम्मे भएको छ । चिसो बढेको स्थानीय एवं गाउँपालिका कार्यपालिका सदस्य पारकाशी गुरुङले बताउनुभयो । हिउँले गाउँ ढाकेको उहाँले बताउनुभयो ।

वडा नं. ३ कै हर्सिङडाँडा, हर्सिङडाँडा मुनिको ढगैं गाउँसम्म हिमपात भएको वडा सदस्य सुमन गुरुङले बताउनुभयो । बाक्लो हिमपात भइरहेको र निरन्तर परिरहेमा गाउँ जोखिममा पर्ने उहाँले बताउनुभयो । उहाँले नागरिकलाई उच्च सावधानीका साथ बस्न अनुरोध गर्नुभयो ।

लमजुङका अन्य पर्यटकीय स्थल बेंसीशहर नगरपालिका १० स्थित पिसहिल, खाँचे, दूधपोखरी लगायतको ठाउँमा पनि हिमपात भएको जानकारी आएको छ । लमजुङका प्रमुख जिल्ला अधिकारी सुशील बैद्यका अनुसार माथिल्लो भेगमा हिमपात भएको छ । बेंसीशहरबाट माथिल्लो क्षेत्रका बस्तीहरु सेताम्मे देखिएका छन् । हिमपात भइरहँदा जाडो बढेको उहाँले बताउनुभयो । हिमपातका कारण कुनै क्षति भने नभएको उहाँको भनाइ छ । पानी परिरहेको र हिमपात भइरहेकाले सतर्क रहन नागरिकलाई उहाँले अनुरोध गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?