सहदेव बस्नेत
जाजरकोट, माघ २१ गते । बारेकोट गाउँपालिका २ का ११ वर्षीय धनबहादुर विक स्थानीय विद्यालयमा कक्षा ४ मा अध्ययनरत हुनुहुन्छ । हाल विद्यालय बन्द हुँदा उहाँको समय घरधन्दामै बित्छ । ‘कहिले गाईबाख्रा चराउन कहिले घाँस दाउरा खोज्न वनपाखातिर लाग्नुहुन्छ ।
बारेकोट गाउँपालिका ४ मैनाका ९ वर्षीय आकाश विक बिहानै डेढ घण्टाको उकालो चढेर जङ्गलतिर घाँस, दाउरा लिन जानुहुन्छ । बारेकोट गाउँपालिका २ का ओमप्रकाश विक पनि घाँस दाउराको लागि बहानै वनपाखातिर लाग्नुहुन्छ ।
बारेकोट गाउँपालिका २ रोकायगाउँकी १२ वर्षीया गीतालाई पनि दैनिक घरको कामको बोझ छ । बाली लगाउँदा आमासँगै खेतबारीको काम, साँझ बिहानको समयमा गाईगोरु चराउनुपर्ने र घाँस दाउरा ल्याउनुपर्ने बाध्यता छ उहाँलाई । ‘पढ्न त मन छ, तर विद्यालय बन्द हुँदा सधैं घरायसी काममै समय बित्नेगरेको उहाँको गुनासो छ ।
जिल्लाका अधिकांश ग्रामीण क्षेत्रका बालबालिकाको समस्या यस्तै छ । जनता आधारभुत विद्यालय रोकायगाउँका प्रधानाध्यापक धनबहादुर नेपालीले आर्थिक अभावका कारण घरमा पठनपाठनको वैकल्पिक व्यवस्था नहुँदा बालबालिकाहरु घाँस दाउरा जानुपर्ने बाध्यता रहेको बताउनुभयो । यहाँका अधिकांश बालबालिका अहिलेसम्म विद्यालय बन्द हुँदा घरमा पढ्नुभन्दा पनि कामकाजमै समय विताउनेगरेको उहाँको भनाई छ ।
स्थानीय अधिकारकर्मी कालीबहादुर नेपाली बालबालिकालाई घरमै पढ्ने व्यवस्थाका लागि स्थानीय सरकार तथा विद्यालयले कुनै व्यवस्था गर्न नसकेको बताउनुभयो । विद्यालय बन्द रहे तापनि शिक्षकहरुले टोलमा गएर पढाउने, गृहकार्य दिएर पठाउने गरेको भए उनीहरु घाँस दाउरा, गोठाला जाने बाध्यताबाट छुटकारा पाउने उहाँले बताउनुभयो ।
आर्थिक अवस्था कमजोर हुँदा ग्रामीण क्षेत्रका अधिकांश युवा रोजगारीका लागि भारत र खाडी मुलुकमा जानेगरेका छन् । न्यून उत्पादन हुँदा स्थानीयस्तरमा उत्पादन हुने खाद्यान्नले वर्षभरि खान पुग्दैन । जसका कारण बालबालिकाले समेत घरधन्दा गर्नुपर्ने बाध्यता भएको उहाँको भनाइ छ । ।