धर्बेन्द्र झा
जनकपुरधाम, माघ २१ गते । मधेश प्रदेशको प्रदेशसभाको चौथो बार्षिकोत्सवको सार्वजनिक कार्यक्रम हावा हुरीका कारण बिहिबार स्थगित भएको छ । विहानदेखि नै मधेश प्रदेशका जिल्लामा हावाहुरी चलेका कारणले टेन्टहरु उडाएको र कार्यक्रम गर्ने अवस्था नभएका कारण आज वार्षिकोत्सवको कार्यक्रम स्थगित भएको सभामुख सरोजकुमार यादवले जानकारी दिनुभयो ।
मौसम प्रतिकूल भएका कारण कार्यक्रम गर्ने अवस्था नभएकाले स्थगित गर्नुपरेको उहाँले बताउनुभयो । उहाँले वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको अतिरिक्त कार्यक्रममा सहभागी भएर विजयी भएका कर्मचारी तथा प्रदेश सभाका सदस्यहरुलाई पछि पुरस्कृत गर्ने सभामुख यादवले जानकारी दिनुभयो ।
प्रत्येक वर्ष प्रदेश सभामा उत्कृष्ट भूमिका निर्वाह गर्ने एक जना प्रदेश सभाका सदस्यलाई ५० हजार रुपियाँसहित पुरस्कृत गर्दैआएको छ । आज दिउँसो १ बजेका लागि उद्घाटनको कार्यक्रम प्रदेश प्रमुख हरिशंकर मिश्रको प्रमुख आतिथ्यमा तय भएको थियो ।
चौथो वार्षिकोत्सवको अवसरमा यसअघि विभिन्न प्रकारको कार्यक्रम आयोजना भएपनि अन्तिम दिन भव्य कार्यक्रमबीचमा बार्षिकोत्सव कार्यक्रम आयोजना गर्ने कार्यक्रम तय भएपनि अन्तिम क्षणमा आएर कार्यक्रम स्थगित भएको हो ।
यसअघि कर्मचारीकोबीचमा विभिन्न प्रकारको अतिरिक्त कार्यक्रम आयोजना गरिएको थियो भने वार्षिकोत्सवको अवसरमा यस पटक पनि रक्तदान कार्यक्रम गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।