logo
२०८१ मंसिर १३ बिहीवार



ताप्लेजुङको पाथीभरामा भारी हिमपात

खुला |


ताप्लेजुङको पाथीभरामा भारी हिमपात
पाथीभरा क्षेत्रमा हिमपात


चन्द्र पन्दाक
ताप्लेजुङ, माघ २१ गते । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा भारी हिमपात भएको छ । बिहीबार रातिदेखि सुरु भएको हिमपात शुक्रबार अपराह्नसम्म पनि जारी रहेको छ ।

तीन हजार ७९४ मिटर उचाइ रहेको पाथीभरा क्षेत्रमा झण्डै एक फिटसम्म हिउँ परेको फेदी बजारका स्थानीय व्यवसायी राजेन्द्र महतले जानकारी दिनुभयो । सामान्य वर्षासँगै जिल्लाको उच्च हिमाली क्षेत्रमा हिमपात जारी रहेको छ भने प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा पनि अहिले हिमपात भइरहेको महतले बताउनुभयो ।

पाथीभरा धाम क्षेत्रसँगै फेदीबजार, काफ्लेपाटी, सेवारो चौक, देउराली र गुप्तेसम्म नै हिमपात भएको छ । हिउँका कारण पाथीभराको दर्शनमा आएका तीर्थयात्री प्रभावित बनेका छन् । जिल्लामा केही सातायता दिनहुँजसो हिमपात भइरहेको छ । निरन्तरको हिमपातसँगै बिहीबार रातिदेखि शुक्रबार बिहान तुलनात्मक रुपमा बाक्लो हिमपात भएको हो ।

यता हिमपातको क्रम रहेपनि काठमाडौंसहित पश्चिम नेपालका विभिन्न ठाउँबाट तीर्थयात्री भने आइरहेका पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । हिमपात र चिसोका कारण दर्शन यात्रा केही कष्टकर भए पनि पाथीभरा देवीको आस्था राख्ने तीर्थयात्री निरन्तर आइरहेका छन् । हिजोआज दिनमा ५० देखि १०० को सङ्ख्यामा तीर्थयात्री आउने गरेको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारीसमेत रहेका महतले जानकारी दिनुभयो ।

उहाँका अनुसार निरन्तर हिमपात भइरहेकाले शुक्रबार बिहान भने थोरै सङ्ख्यामा मात्र तीर्थयात्री पाथीभराको दर्शनमा पुगेका छन् । केही तीर्थयात्री हिउँले गर्दा पदयात्रा असज भएपछि फेदीबजारमै रोकिएका पनि स्थानीय व्यवसायीले बताएका छन् । हिमपातका समयमा यात्रा गर्न कठिन भए पनि पाथीभराको दर्शनसँगै हिउँको मजा लिने उद्देश्यले तीर्थयात्रीको आगमन हुने गरेको बताइएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?