चन्द्र पन्दाक
ताप्लेजुङ, माघ २१ गते । हिमपातका कारण ताप्लेजुङको सुकेटार विमानस्थलमा शुक्रबारको उडान अवरुद्ध भएको छ । नेपाल वायु सेवा निगम ताप्लेजुङकाअनुसार विमानस्थलमा हिउँ परेपछि उडान अवरुद्ध भएको हो ।
सदरमुकाम फुङ्लिङ बजार नजिक दुई हजार ४०० मिटरको उचाइमा अवस्थित सुकेटार विमानस्थलमा बिहीबार रातिदेखि नै हिउँ थुप्रिएपछि उडान प्रभावित भएको हो । निगमका ताप्लेजुङ स्टेसन इन्चार्ज लोकेन्द्र लिम्बूले हिउँकै कारण शुक्रबारको उडान रद्द भएको जानकारी दिनुभयो ।
गएरातिदेखि शुत्रबार बिहानसम्म नै हिमपात जारी रहेपछि उडान रद्द गर्नुपर्ने अवस्था बनेको लिम्बूले बताउनुभयो । नेपाल वायु सेवा निगमले ताप्लेजुङ–काठमाडौं सीधा उडान सञ्चालन गर्दैआएको छ । शुक्रबारको उडान अवरुद्ध बनेपछि काठमाडौंका लागि टिकट लिएका १४ जना यात्रु रोकिनुभएको छ ।
काठमाडौंदेखि ताप्लेजुङ आउन लागेका १२ जना यात्रु उतै रोकिएका पनि लिम्बूले जानकारी दिनुभयो । । यसअघि पनि हिमपातका कारण पटक–पटक उडान अवरुद्ध बन्दैआएको थियो । निगमले सुकेटार विमानस्थलमा प्रत्येक साताको सोमबार, बुधबार र शुक्रबार तीन दिन उडान सञ्चालन गर्दैआएको छ ।