बेलिना थापा
लमजुङ, माघ २१ गते । लमजुङमा माघ मसान्तसम्म कुनैपनि भिडभाड हुने कार्यक्रम सञ्चालन गर्न नपाइने प्रशासनद्वारा रोक लगाइएको छ । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोनसहितको संक्रमण तीब्र रुपमा बढ्दै गएको भन्दै जिल्ला प्रशासन कार्यालय लमजुङले भिडभाड हुने र अन्य सबै प्रकारका कार्यक्रमहरु सञ्चालनमा रोक लगाएको हो ।
माघ १० गते जारी गरिएको आदेश यथावत रहनेगरी माघ २० गते राति १२ बजेदेखि अर्को सूचना प्रकाशन नभएसम्मका लागि लागु हुनेगरी थप आदेश जारी गरिएको हो । प्रमुख जिल्ला अधिकारी सुशील बैद्यकाअनुसार माघ मसान्तसम्म कार्यक्रमसँगै सिनेमा हल, डान्स वार, दोहोरी, नाँचघर, क्लब, जिमखाना, स्विमिङ पुल, पटके हाटबजार सञ्चालन गर्न रोक लगाएको छ ।
यस्तै, विद्यालय, विश्वविद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलाप सञ्चालन गर्दा माघ मसान्तसम्म भौतिक रुपमा उपस्थितिमा सञ्चालन नगर्न आदेश गरेको छ । शैक्षिक क्रियाकलाप भर्चुअल वा बैकल्पिक शिक्षण सिकाईका विधिहरु अपनाई सञ्चालन गर्न भनिएको छ ।
विद्यालय, कलेजका पूर्व निर्धारित परीक्षा, जनशक्ति भर्नाका परीक्षा, बैदेशिक रोजगारीका लागि सञ्चालन गरिने विदेशी भाषा तथा चिकित्सा शिक्षाका सबै किसिमका प्रयोगात्मक कक्षा जनस्वास्थ्यका मापदण्ड पालना गरी सञ्चालन गर्न पाइने भएको छ ।
विद्यालयस्तर तथा सर्वसाधारणका लागि सञ्चालन भएको खोप अभियान कार्यक्रम विद्यालयहरुले सम्बन्धित निकायसँग समन्वय गरी अभियानकै रुपमा सञ्चालन गर्नुपर्ने भनिएको छ । कोभिड संक्रमण दिनानुदिन बढ्दै गएपछि प्रशासनले थप कडाई गरेको छ । प्रशासनले सबै नागरिकलाई आउजाउ गर्दा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन अनुरोध गरेको छ ।
सामाजिक दुरी कायम गर्न, पटक पटक साबुनपानीले हात धुन, स्यानीटाइजरको प्रयोग गर्न, अनिवार्य मास्क लगाउन भनिएको छ । कोरोना रोकथाम, नियन्त्रण, निदान र उपचारलाई थप प्रभावकारी बनाउन कोभिड १९ संक्रमण जोखिम नियन्त्रणका लागि स्मार्ट लकडाउन सम्बन्धि कार्यविधि २०७८, संक्रामक रोग ऐन २०२० को दफा २ ले दिएको अधिकार र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी लमजुङमा माघ १० गते राति १२ बजेदेखि सबै प्रकारका कार्यक्रम सञ्चालन नगर्न, स्वास्थ्य मापदण्ड पालना गर्न आदेश जारी गरिएको थियो ।