प्रेम अधिकारी
इलाम, माघ २२ गते । लगातारको हिमपातले इलामको सन्दकपुरलगायतका उच्च क्षेत्रको जनजीवन कष्टकर भएको छ । शुक्रबार बिहानदेखि लगातार हिमपात भएपछि सन्दकपुर, जौबारी, मेघमा, तुम्लिङ, टङलु लगायतका क्षेत्रको जनजीवन कष्टकर भएको हो । यी क्षेत्रमा तेस्रो पटक हिमपात भएको हो ।
सन्दकपुर गाउँपालिकाको पर्यटकीय स्थल सन्दकपुर जौबारी माईजोगमाई गाउँपालिकाको थुम्केरानी तुम्लिङ, टङ्लु, मेघमा , सूर्योदय नगरपालिकाको चित्रे, पशुपतिनगर, पुसे, भस्मे, धोद्रे,र इलाम नगरपालिकाको पाटेनागी क्षेत्रमा बाक्लो हिमपात भएको छ । माईजोगमाई र सूर्योदय नगरपालिकाका यी क्षेत्रमा करिब २० वर्षपछि हिमपात भएको छ ।
जौवारीका पर्यटन व्यावसायी सोनाम लामाका अनुसार यी क्षेत्रमा हिमपातका कारण यातायातका साधन ठप्प छन् । हिमपातका कारण जनजीवन कष्टकर भएको छ । लगातार हिमपात भएपछि सडक क्षेत्रमा यातायतका साधन सञ्चालनमा आउन सकेका छैनन् । वर्षसँगै हिमपात भइरहदा घरबाहिर निष्कनै समस्या भएको मेघमाका चन्द्रकुमार प्रधानले जानकारी दिनुभएको छ । हिमपातले चिसो बढेकाले वृद्धवृद्धा र बालबालिकालाई समस्या भएको प्रधानले जानकारी दिनुभयो । थुम्केरानीमा करिब एक फिटसम्म हिउँ जमेको माईजोगमाईका संजीव थामीले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त क्षेत्र हिउँले सेताम्मे भएको छ ।
३६३६ मिटरको पर्यटकीय स्थल सन्दकपुरमा लगातार हिमपात भइरहेको छ । लगातारको हिउँले मानिस घर बाहिर निष्कन सकेका छैनन् । माईजोगमाई गाउँपालिकाका अध्यक्ष जित बहादुर राईले लगातारको हिमपातले पशुचौपयाको समेत बिचल्ली भएको जानकारी दिनुभयो । उहाँले दैनिक काम गरेर खान सर्वसाधारणलाई हिमपातले समस्या भएको बताउनुभयो ।
सन्दकपर, जौबारी, थुम्केरानीलगायतका क्षेत्रमा हिउँ खेल्ने आन्तरिक पर्यटककको भीड लाग्न थालेको छ । सन्दकपुर १२ महिना पर्यटकले भरिभराउ हुने गर्दछ । सन्दकपुरसहितका यी क्षेत्रमा यो सिजनमा हिमपात भएको तेस्रो पटक हो ।