logo
२०८१ बैशाख २५ मंगलवार

  नेपाल–भारतका अधिकारीबीच  सीमा बैठक  



धार्चुला क्षेत्रमा निर्माण गरिरहेको पक्की तटबन्धबारे नेपालले कुरा उठायाे

खुला |
प्रदेश |


धार्चुला क्षेत्रमा निर्माण गरिरहेको पक्की तटबन्धबारे नेपालले कुरा उठायाे


लोकेन्द्र जोशी
दार्चुला, माघ २२ गते । नेपाल–भारत सीमा समन्वय समितिको बैठक भर्चुअल माध्यमबाट सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाको आयोजनामा दार्चुला, बैतडी र भारतको पिथौरागढका अधिकारीहरुबीच भर्चुअल बैठक सम्पन्न भएको हो ।

कोरोना महामारीको असरका कारण नेपाल–भारत सीमा बैठक भर्चुअल माध्यमबाटै आयोजना गरिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिनुभयो । बैठकमा नेपालको तर्फबाट चारवटा एजेण्डाहरु प्रस्तुत गरिएको छ ।

सीमा बैठकमा भारतले दुई देशीय सहमति र अन्तर्राष्ट्रिय मान्यता विपरीत दार्चुला सदरमुकाम खलंगापारी धार्चुला क्षेत्रमा निर्माण गरिरहेको पक्की तटबन्ध, नेपाल–भारत जोड्ने मोटरेवल पुल, भारतीय बजारमा नेपाली मुद्राको अवमुल्यन र सीमा पुलहरु खोल्ने विषयमा नेपालको तर्फबाट एजेण्डा राखिएको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताउनुभयो । भारतीय पक्षले १४ फेब्रअरीमा हुने विधानसभा निर्वाचनको सीमा सुरक्षा व्यवस्थाप, सीमा समन्वयलगायत विषयमा एजेण्डा राखेको थियो ।

“भारतले खलंगा पारी सीमा नदी महाकालीको वहाब परिवर्तन हुने गरेर तटबन्ध निर्माण गरिरहेको छ । हामीले भारतीय तटबन्धको विषयमा सीमा बैठकमा कुरा उठाएका छौँ”, प्रजिअ उपाध्यायले भन्नुभयो, “पिथौरागढ जिल्ला अधिकारीले नेपाललाई असर नपर्ने गरी तटबन्ध निर्माण गर्ने आश्वासन दिनुभयो । नेपालको तर्फबाट महाकाली नदीमाथि बन्ने भनिएको मोटर पुलको विषयमा पनि एजेण्डा प्रस्तुत गरिएको थियो ।”

महाकाली नगरपालिकाको सुरकाडा क्षेत्रमा नेपाल–भारत जोड्ने पक्की पुल निर्माणका लागि केही दिन पहिले सम्झौतापत्रमा हस्ताक्षर भएको छ । भारतीय लगानीमा निर्माण हुने उक्त पुलको निर्माण कार्य १४ फेब्रअरीमा हुने भारतीय विधानसभाको निर्वाचनपछि अगाडि बढाइने पिथौरागढ जिल्ला अधिकारी चौहानले बताउनुभयो ।

भारतीय बजारमा नेपाली मूल्यको अवमूल्यन हुने गरेकाले सो विषयमा समेत छलफल भएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । नेपाली एक हजार रुपियाँ बराबर ६ सय २५ रुपियाँ भारु हुने भएपनि ६ सय रुपियाँमा मात्रै सटही हुने गरेकाले प्रत्येक एक हजारमा नेपाली ४० रुपियाँको घाटा हुनेगरेको छ । दैनिक उपभोग्य सामग्री खरिदका लागि अधिकांश नेपाली ग्राहक र व्यापारी भारतीय बजारमै जाने भएकाले नेपाली रुपियाँमा दैनिक हजारौँ घाटा व्यहोर्न बाध्य छन् ।

नेपाल–भारत जोड्ने सीमा पुल खुल्ने समयबारेमा पनि बैठकमा छलफल भएको बताइएको छ । विगतदेखि सीमा पुल बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म दैनिक १२ घण्टा खुला रहने गरेकोमा कोरोना महामारीपछि बेलुकी ५ बजे नै बन्द हुनेगरेको छ । भारतीय विधान सभाको निर्वाचनपश्चात् पूर्वनिर्धारित समयमै पुल खोल्ने विषयमा सहजीकरण गर्ने पिथौरागढ जिल्ला अधिकारी चौहानले विश्वास दिलाएको दार्चुलाका प्रजिअ उपाध्यायले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?