logo
२०८१ मंसिर १३ बिहीवार



कोरोनाका कारण बन्द सेवा प्रवाह सुचारु

खुला |


कोरोनाका कारण बन्द सेवा प्रवाह सुचारु


कमल शर्मा
दैलेख, माघ २३ गते । जिल्ला प्रशासन कार्यालय दैलेखले कोरोना सङ्क्रमणका कारण एक साता बन्द गरिएको सेवा प्रवाह आइतबारदेखि सुचारु गरेको छ । जिल्ला प्रशासन कार्यालयले कर्मचारीहरुमा कोरोना सङ्क्रमण पुष्टि भएपछि माघ १७ गतेबाट शान्ति सुरक्षा र मुद्दासम्बन्धी कामबाहेक अन्य सबै सेवा बन्द गरिएको थियो ।

जिप्रकाका सहायक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद कोइरालाले आइतबारबाट सेवा सुचारु गरेको जानकारी दिनुभयो । नागरिकलाई सेवा लिन आउँदा अनिवार्य खोप कार्ड बोकेर आउन प्रशासनले आग्रह गरेको उहाँ बताउनुभयो । उहाँका अनुसार सेवा लिन आएका नागरिक खोप नलगाएको पाइएमा जिल्ला प्रशासनमै खोप लगाउने व्यवस्था गरिएको छ । आजबाट सेवा प्रवाह सुरु भएपछि सुनसान भएको कार्यालयमा सेवाग्राहीको चहलपहल बढेको समेत उहाँले बताउनुभयो ।

बैंकमा कार्यरत कर्मचारीमा कोरोना देखिएपछि बन्द गरिएको राष्ट्रिय वाणिज्य बैंकले समेत सेवा प्रवाह सुरु गरेको छ । राष्ट्रिय वाणिज्य बैंक दैलेखका शाखा प्रबन्धक चेतनकुमार बिसीले शाखामा रहेका सबै कर्मचारीमा कोरोना देखिएपछि माघ १४ गतेबाट बन्द गरिएको सेवा शुक्रबारबाट सुरु गरेको बताउनुभयो । उहाँले अत्यावश्यक सरकारी राजस्व तथा अन्य कार्यका लागि बैंकमा फोनमार्फत सेवा दिएको र अन्य काम आज आइतबारबाट सुरु गरिएको बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?