काठमाडौं, माघ २३ गते । अवैध रुपमा भन्सार छलि ल्याएको सुन, मोबाइल तथा ल्यापटपसहित चार जनालाई आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा मोरङ मिक्लाजुङ गाउँपालिका–८ मधुमल्लका ३० वर्षीय पदमबहादुर अधिकारी, सोही गाउँपालिका स्थायी घर भएका ३० वर्षीय मान सिंह विश्वकर्मा, झापा शिवसताक्षी नगरपालिका–९ मिलनचोकका २२ वर्षीय समिर रसाइली र मकवानपुर हेटौंडा उपमहानगरपालिका–१९ का ३२ वर्षीय गोकुल डल्लाकोटी रहनुभएको छ ।
जजिरा एयरको फ्लाइटद्वारा दुवईबाट कुवेत हुँदै काठमाडौं आएका पदम बहादुरको साथबाट ५८ ग्राम तौल बराबरको एक थान सुनको सिक्री, तीन थान मोबाइल र एक थान ल्यापटप, मान सिंह विश्वकर्माको साथबाट ५८ ग्राम तौल बराबरको एक थान सुनको सिक्री, तीन थान मोबाइल र एक थान ल्यापटप तथा समिरको साथबाट ५८ ग्राम तौल बराबरको एक थान सुनको सिक्री, तीन थान मोबाइल र एक थान ल्यापटप फेला पारी सोधपुछ गर्दा उक्त सामानहरू भन्सार छलि ल्याउन गोकुलले लगाएको भन्ने खुलेपछि उक्त सामान लिन आएका गोकुलसमेतलाई प्रहरीले पक्राउ गरेको हो ।
बरामद गरिएका सामानसहित आवश्यक अनुसन्धान तथा कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ ।