logo
२०८१ बैशाख २५ मंगलवार



धुलीधारमा स्वच्छ पानीकाे आश, एक सय वर्षपछि मेटियाे प्यास

खुला |
समाज |


धुलीधारमा स्वच्छ पानीकाे आश,  एक सय वर्षपछि मेटियाे प्यास
सुर्नया गाउँपालिका–६, धुलीधारमा निर्माण भएको लिफ्ट खानेपानी । तस्बिरः गोकर्ण दयाल



गोकर्ण दयाल
बैतडी, माघ २४ गते । सुर्नया गाउँपालिका–६, धुलीधारमा बस्ती बसेको करिब एकसय वर्षपछि गाउँमा खानेपानीको धारा निर्माण सुरु भएको छ । दैनिक एक घण्टा ओरालो झरेर खानेपानी बोक्नुपर्ने बाध्यता एक सयवर्षपछि अन्त्य हुन लागेकाले बस्तीमा खुशियाली छाएको छ ।

“बस्तीमा खानेपानी पुग्दा सूर्य पश्चिमबाट उदाएको जस्तो अनुभूति भएको छ,” स्थानीय नवराज अवस्थीले भन्नुभयो, “ गाउँका ७० घरपरिवारले बाबुबाजेको पालादेखिको पानीको दुःख तेस्राे पुस्तामा आइपुग्दा बल्ल समस्या समाधान भएको छ ।”

सुदूरपश्चिम प्रदेश सरकारको एक करोड ४० लाख रुपियाँ लागतमा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बैतडीमार्फत लिफ्ट खानेपानी योजना निर्माण भएको प्राविधिक नरेन्द्र ठगुन्नाले बताउनुभयो ।

“१९० मिटर ठाडो उकालोमा सौर्य उर्जाबाट पानी लिफ्ट गरेर इन्टेकमा झारेका छौँ” खानेपानी कार्यालयका प्राविधिक नरेन्द्र ठगुन्नाले भन्नुभयो, “शाखालाइन विस्तारको काम सकेर वस्तीमा धारा निर्माणको काम चलिरहेको छ । ”

धुलीधार वस्तीमा लिफ्ट खनेपानी पु¥याउन बिजुली बत्ती नहुँदा ५.५ किलोवाटको सौर्य उर्जा जडान गरिएको खानेपानी कार्यालयका प्रमुख कृष्णबहादुर बोगटीले बताउनुभयो ।

कार्यालय प्रमुख बोगटीले भन्नुभयो,“ लिफ्ट खानेपानी योजनाको काम समयमै सम्पन्न गर्न गाउँमै प्राविधिक खटाएका छौँ । बस्तीमा पानी झरेपछि स्थानीयवासीको अनुहार चम्किलो बनेको देख्दा हामीलाई पनि सन्तुष्टि मिलेको छ ।”

धुलीधारमा एक सय वर्षपछि खानेपानी पुग्दा महिलाको कामको बोझ घटेको उपभोक्ता समितिका सचिव भरत अवस्थीले बताउनुभयो । पुस्तौनी पानीका दुःख हट्दा धुलीधार बस्तीमा पनि विकासको अनुभूति गर्न पाएको अवस्थीले बताउनुभयो ।

बैतडीमा यो वर्ष धुलीधार जस्तै अन्य १२ वटा लिफ्ट खानेपानी योजना निर्माण भइरहेको डिभिजन खानेपानी कार्यालय बैतडीका प्रमुख कृष्णबहादुर बोगटीले बताउनुभयो ।

कार्यालय प्रमुख बोगटीले भन्नुभयो, “सिगास गाउँपालिका लगन–ठूलीसैनी, काफलकाँडा, दलेख खोला, पाटन नगरपालिकाको मानिका खान, जाईटकारी, मेलैली नगरपालिकाको मेलैली बजार, दोगडाकेदार गाउँपालिकाको न्वाली, खम्तोला, ढुङ्गेपाजनी र दशरथचन्द नगरपालिकाको रुगापातल र मङ्रौं गरी १२ वटा लिफ्ट खानेपानी योजना निर्माण भइरहेका छन् । ”

जलवायु परिवर्तन र जथाभावी डोजरले सडक खन्दा बैतडीका अधिकांश स्थानीय तहमा भएका खानोपानी मुहान पुरिएको पछिल्लो समय लिफ्ट खानेपानी योजनाको माग बढ्न थालेको खानेपानी कार्यालयले जानकारी दिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?