सिराज खान
नेपालगञ्ज, माघ २४ गते । नेपालगञ्जस्थित बरकातिया अनाथालयका विपन्न तथा अनाथ बालकलाई चिसोबाट जोगाउन कम्बल वितरण गरिएको छ । अनाथालयमा पढ्ने र सोही ठाउँमा बस्ने अनाथ तथा विपन्न बालकहरु चिसोका कारण विरामी पर्न थालेपछि न्यानो कम्बल वितरण गरिएको हो ।
जिल्ला विपद व्यवस्थापन समिति बाँकेले अनाथालयको आग्रहमा त्यहाँ अध्ययनरत ७५ जना अतिविपन्न तथा अनाथ बालकलाई कम्बल उपलब्ध गराएको अनाथालयका प्रबन्धक मौलाना जियाउल मुस्तफा नुरानीले बताउनुभयो ।
अत्याधिक चिसोले बालकहरुसँग न्यानो लुगाको अभाव हुँदा विरामी पर्न थालेपछि विपद व्यवस्थापन समिति बाँकेलाई कम्बलका लागि आग्रह गरिएको उहाँले बताउनुभयो । बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीले ७५ वटा कम्बल उपलब्ध गराइएको बताउनुभयो ।
कम्बल पाएपछि बालकलाई राहत भएको उहाँले बताउनुभयो । अनाथालयका प्रबन्धक मौलाना नुरानीले यस वर्ष बाँकेमा विगतभन्दा बढी चिसो भएको बताउनुभयो । जिल्ला विपद व्यवस्थापन समितिले सो अनाथालयलाई ७५ वटा कम्बल हस्तान्तरण गरेको छ । जिल्ला विपद व्यवस्थापन समिति बाँकेका सुचना अधिकृत रुपन ज्ञवालीले अनाथालयका प्रबन्धक मौलाना नुरानीलाई सो कम्बल हस्तान्तरण गर्नुभयो ।
अनाथालयमा मुस्लिम समुदायका ८ वर्षदेखि माथिका अनाथ र अति विपन्न ७५ जना बालकहरु अध्ययन गर्दैआएका छन् । अनाथालय चन्दा सहयोग र सरकारद्वारा दिइने सहयोगबाट सञ्चालन हुँदैआएको छ ।